फिदिम । रानीटार गोल्डकपको उपाधि झापा बिर्तामोडका रेड स्टार फुटबल क्लबले चुमेको छ । चिरपरिचित प्रतिद्वन्द्वी सैनिक युथ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै रेड स्टार रानीटार गोल्डकप च्याम्पियन बनेको हो ।

फिदिम ७ स्थित बराजु खेल मैदानमा सोमबार भएको फाइनल भिडन्तमा दुवै टिमले निर्धारित समयमा गोल गर्न सकेनन् । टाइब्रेकरमा भने रेड स्टारले ५-४ गोलअन्तरमा बाजी मारेको हो । रेड स्टारका पाँच खेलाडीको प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै, सैनिकका चार खेलाडीको प्रहार गोलमा परिणत भए पनि सनम लिम्बूको प्रहार गोलपोस्टमा लाग्दै बाहिरिएपछि रेड स्टार भाग्यमानी बन्यो ।

खेल संयोजक मिलन गुरुका अनुसार खेलको उत्कृष्ट गोलरक्षक रेडस्टारका सौरभ गुरुङ, सैनिकका विमान राई उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डमा रेडस्टारका अंंकुर तामाङ उनी म्यान अफ दी टुर्नामेन्ट पनि घोषित भए । र, उत्कृष्ट स्ट्राइकर रेडस्टारकै रमेश गुरुङ घोषितहुँदै पुरस्कृत भए ।

आठ टिम सहभागी गोल्डकपको विजेता रेडस्टार फुटबल क्लबले नगद १ लाख र उपविजेता सैनिक युथ क्लबले नगद ५० हजार प्राप्त गर्यो ।