काठमाडौं । तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप आज शुक्रबारदेखि सुरु हुदैछ । उद्घाटन खेलमा साविक विजेतासमेत रहेको आयोजक नेपालले माल्दिभ्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एपीएफको हलचोक मैदानमा हुने खेल दिउँसो ११ बजे सुरु हुनेछ ।

समुह एमा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसंग खेल्नेछ । समुह बीमा रहेको भारत, श्रीलंका र बंगलादेश छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् । यसअघि नेपाल र भुटान भएको अघिल्ला दुई संस्करणको प्रतियोगिता नेपालले जितेको थियो ।

सहज समुहमा परेको नेपाललाई सेमिफाईनल पुग्न कठिन हुने छैन । सेमिफाईनल प्रवेश गरेपछि नेपालले कडा प्रतिद्वन्दी भारत र बंगलादेशसंग खेल्नुपर्नेछ ।

मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने बताए । प्रिम्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले टिमको तयारी उत्कृष्ट रहेको कारण उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए ।

‘प्रतियोगितामा सबै टिम बलिया छन् । तर, हामीले त्यहिँ अनुसार तयारी गरेका छौँ’, प्रशिक्षक श्रेष्ठले भने, ‘यस पटक घरेलु मैदानमा प्रतियोगिता हुँदैछ । हामीले त्यहिँ अनुसार जितेर ह्याट्रिक गर्ने लक्ष्य बनाएका छौँ ।’

प्रशिक्षक श्रेष्ठले नेपालले प्रतियोगिता अघि ४५ दिन तयारी गरेको र टिम उत्कृष्ट बनेको बताए । प्रतियोगिताको उपाधि जित्न टिमले अट्याकिङ पोजिसनलाई बढी फोकस गरेको समेत बताए ।

‘हाम्रो सबै पक्ष राम्रो छ । मिडफिल्ड सबै भन्दा बलियो छ । उपाधि जित्नको लागि हामी अट्याकिङ पोजिसनलाई बलियो बनाएका छौं’, श्रेष्ठले भने ।

केहि अनुभवी खेलाडी र कोरियाको एकेडेमीमा रहेर खेलिरहेका मनिष डाँगी टिममा रहेको कारण टिमको अग्र पंक्ति बलियो भएको श्रेष्ठको भनाई छ ।