यलु जोशी,
काठमाडौं । हिन्दूहरूको महान चाड बडादशैं हाम्रो घर दैलोमा भित्रिसकेको छ । दशैं भन्नेबित्तिकै पारिवारिक जमघट शीर्ष स्थानमा आउँछ । नयाँ लुगा लगाएर चिटिक्क परेर टीका थाप्न हिँड्नु दशैंको विशेषतामा पर्छ । तर चिटिक्क पर्नका लागि लुगा मात्र होइन, मेकअपको पनि निकै महत्वपूर्ण भूमिका हुन्छ ।

अनुहारका लागि मेकअप जरुरी छ । यसले सुन्दरतामा निखार ल्याउनुका साथै वातावरणमा भएका विभिन्न विकीरण र हानिकारक तत्वबाट छालालाई सुरक्षा दिइरहेको हुन्छ ।

मेकअप गर्दा के गर्ने, के नगर्ने र यसको प्रक्रियाबारे मेकअप आर्टिस्ट मन्जु कार्की पाण्डे भन्नुहुन्छ, ‘लुगा मात्र राम्रो लगाएर हुन्न मेकअप नहुँदा अवश्य पनि नराम्रो देखिन्छ ।’

मेकअपको सबैभन्दा महत्वपूर्ण र धेरैलाई थाहा नभएको प्राइमर लगाउनु जरुरी हुन्छ । उहाँले प्राइमरले अनुहारमा मेकअपका लागि एउटा बेस बनाइदिने जानकारी दिनुभयो । यो लगाएपछि अनुहारमा छुट्टै चमक आउँछ र फाउन्डेसनलाई धेरैबेरसम्म टिकाइराख्ने उहाँले जानकारी दिनुभयो ।

आँखाको मेकअपः
धेरैले आँखाको मेकअप फाउन्डेसन लगाएपछि मात्र गर्नुहुन्छ तर हामी भने यो पहिले नै गर्छौं किनभने आँखाको मेकअप गर्दा हातले पटक पटक छालालाई छोइरहेको हुन्छ, आइस्याडो झरिरहेको हुन्छ । त्यसैले पुनः फाउन्डेसन लगाउनुपर्छ । त्यसपछि फाउन्डेसन लगाउनुहोस् । तर मेकअप गर्दा फाउन्डेसन नै लगाउनुपर्छ भन्ने छैन ।

अनुहारमा धेरै दागहरू नभएका र गोरो वर्ण भएकाले बीबी क्रिम लगाउँदा पनि अनुहार आकर्षक र सुन्दर देखिन्छ । त्यसपछि पाउडर प्रयोग गर्न सक्छौ ।

दशैं भनेको खानपिनको चाड हो त्यसकारण खाने क्रममा कतिको लिपस्टिक लत्पतिन्छ र धेरै बेरसम्म टिक्दैन पनि । यसका लागि पाण्डे भन्नुहुन्छ, पहिलो कोटको लिपस्टिक लगाइसकेपछि टिस्यु पेपरलाई एक पटक ओठले च्याप्नुपर्छ त्यसपछि दोस्रो कोट लिपस्टिक लगाउनुपर्छ । अन्त्यमा टिस्युलाई ओठमाथि राख्ने र त्यसमाथि पाउडर लगाउने ।

दशैमा सबैले रातो रङको लुगा नै प्रयोग गर्ने हुन्छ त्यसैले रातो लुगा लगाएको खण्डमा आँखाको अघिल्तिर सिल्भर कलर, स्याम्पेन कलर अथवा सेतो कलर लगाउन सकिन्छ र आँखाको बाहिरी भाग मा म्याटमा ‘रेडिस ब्राउन’ अथवा ब्ल्याकले डबल सेड दिन सक्छौं ।

आँखा ठूल्ठूला देखाउनः
आँखाको पेरला मज्जाले कर्ल गर्ने र मस्कारा लगाउने । एक कोट मस्कारा लगाएर त्यसलाई एकछिन सुक्न दिने र दोस्रो कोट मस्कारा लगाएको खण्डमा परेला लामो र बाक्लो देखिन्छ । परेलाले पनि आँखालाई सुन्दर देखाउन निकै सहयोग गर्छ ।

महिलालाई सन ब्लक, फाउन्डेसन, मस्कारा र लिपस्टिक लगाए मात्र पनि पुग्छ । यति चारवटा गुणस्तरीय खरिद गरियो भने सुन्दरतामा निखार आउनुका साथै छाला पनि स्वस्थ रहन्छ ।

धेरैको सोच मेकअप धेरैसम्म टिकोस् भन्ने नै हुन्छ । यसका लागि मेकअप स्प्रे, सेटिङ स्प्रे वा फिक्सरको प्रयोग गर्न सकिन्छ । स्प्रे लगाउँदा चार घण्टा टिक्ने मेकअप ६ घण्टासम्म पनि टिक्ने गर्छ ।

नायिका मोडलहरूलाई मेकअप गर्दे आउनुभएको उहाँले भारतबाट तालिम लिएपछि आफ्नो रुचिको विषयलाई नै आफ्नो व्यवसाय गर्नुृभएको छ । दुई हजार भन्दा बढीलाई मेकअपको प्रशिक्षण दिनुभइसकेको पाण्डे भन्नुहुन्छ, ‘सिक्ने कुरा कहिले पनि सिद्धिँदैन । म यही क्षेत्रबाटै आफ्नो पहिचानलाई बलियो बनाउने सोचमा छु ।’

‘हामी सबै दशैको लागि राम्री बन्नुपर्छ त्यसैले मेकअप गर्दा पहिले अनुहार सफा राख्नुपर्छ’, उहाँ भन्नुहुन्छ, ‘सफा अनुहारमा सनब्लक लगाउनुपर्छ उहाँ थप्नुहुन्छ, यदि अनुहारको छाला रुखो छ भने यसअघि मोइस्चराइजिङ लोसन लगाउनुपर्छ ।’