झापा। मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले जिम्मेवारीपूर्वक ब्याटिङसँगै अर्धशतक प्रहार गरेपछि ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि-२० सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको हो । नेपालका लागि विनोद भण्डारीले ४८ बलमा नटआउट ५४ रन जोडे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । आरिफ शेखले २१ र सोमपाल कामीले १३ रन जोडे । पहिलो बलमा नै कप्तान पारस खड्कालाई गुमाएको नेपालले ब्याटिङमा खराब सुरुवात गर्यो ।

एक समय ३६-४ को स्थितिमा रहेको नेपाललाई विनोद र आरिफको पाँचौ विकेटको साझेदारीले उकासेको थियो । यी दुईले ६२ रनको साझेदारी गरे । शीर्षक्रममा पारस शून्य, पवन सर्राफ १०, दिपेन्द्रसिंह ऐरी ६ र रोहितकुमार पौडेल ५ रनमा आउट भए । हङकङका लागि काइल क्रिस्टी र नसरुल्लाह रानाले २-२ विकेट लिए ।

टस जितेर फिल्डीङ रोजेको नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रनमात्र जोड्यो । सुरुवाती ओभरमा हङकङले राम्रो सुरुवात गरे पनि त्यसै लयलाई कायम गर्न सकेनन् । ४ ओभरमा विना विकेटको क्षति ३५ रन जोडेको अवस्थामा बलिङमा आएका कारणले तेस्रो बलमा ओपनर अहसान अब्बासीलाई १३ रनमा रोहित पौडेलको हातबाट क्याच गराएका थिए ।

करणले पाँचौ बलमा अर्का ओपनर निजाकत खानलाई १३ बलमा २३ रन जोडेको अवस्थामा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए । लगत्तै अर्को बलमा शहिद वासिफ पहिलो बलमा नै करणको एलबीडब्लू धरापमा पारे । त्यसपछि कप्तान किन्चित र वाकस बर्कतले ६३ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याएका थिए । किन्चितले ३१ बलमा ३१ रन तथा वकासले ४७ बलमा ३७ रन जोडे । एहसान खान १० रनमा नटआउट रहे ।

नेपालका लागि करण केसीले ४ विकेट लिएका थिए । अभिनाश बोहोराले ३ ओभरमा १७ रन खर्चेर १७ रन तथा ललित नारायण राजवंशीले ४ ओभरमा १७ रन मात्र खर्चे । प्रतियोगिताअन्तर्गत यो चौथो खेल हो । आइतबार भएको पहिलो खेलमा आयोजक ओमानले आयरल्यान्डलाई ४३ रनले पराजित गरेको थियो । त्यसअघि शनिबारको खेलमा ओमानले हङकङलाई ७ विकेटले तथा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।