लक्ष्मी उप्रेती,
झापा । गोर्खा मेमोरियल फण्ड युकेको दशौँ वार्षिककोत्सवका अवसरमा फण्डको निमन्त्रणामा त्यहाँ पुगेका मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यसहित उनकी पत्नी गीता प्र्रसाई आचार्यलाई भव्य स्वागत गरिएको छ । असोज १६ मा त्यहाँ पुगेका नगरप्रमुख आचार्य दम्पतिलाई द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष, झापाली समाज लण्डनका अध्यक्ष तथा बेलायतस्थित फोक्टन सीटीका पूर्व काउन्सिलर धनकिरण गुरुङ नेतृत्वमा रहेको बेलायती टोलीले स्वागत गरेको थियो ।

सैनिक पेशाबाट सेवा निवृत्त भएपछि गुरुङले राजनीति यात्रा शुरु गरेलगत्तै उनी सन् २००७ देखि २०११ सम्म फोक्सटनका काउन्सिलर भएका थिए । उनी फोक्सटन क्षेत्रको काउन्सिलर मात्र बनेनन् बेलायतमा काउन्सिलर निर्वाचित हुने पहिलो नेपाली नागरिक हुने अवसर पनि प्राप्त गरे । उनले बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई बेलायती समुदायमा परिचय गराउन समेत पहल गरेका थिए ।

त्यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख आचार्यले विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाल र बेलायत तथा नेपाली र बेलायती जनताबीचको सम्बन्ध धेरै अगाडिदेखि सुमधुर रहेकाले अझ यो सम्बन्धलाई प्रगाढ बनाएर लैजाने विश्वास व्यक्त गरे ।

नगरप्रमुख आचार्यले गुरुङले नेपाली समुदायलाई बेलायती समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निभाएको, उनले बेलायतमा बसेरै पनि नेपाल र नेपाली जनता त्यसमा पनि झापालीप्रति देखाएको सदभाव, माया ममता, नेपालको शिक्षा, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा जति गरे पनि कम हुने बताए । फण्डका संस्थापक अध्यक्ष गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र विशेष अतिथि नगर प्रमुख आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।

फोक्सटन टाउनका प्रमुख, बेलायतको केन्ट जिल्ला अध्यक्ष एन बेरी, उपाध्यक्ष फिलिप मार्टिन, काउन्सिलर अध्यक्ष आन एल एन, हाइट टाउनका मेयर, हाकिन्स टाउनका मेयर, जे वर्ग सिटीका मेयर काउन्सिलरहरु तथा बेलायतका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग मेचीनगर प्रमुख आचार्यले विभिन्न विषयमा छलफल गरे ।

छलफलका क्रममा दुई सहरबीच दोहोरो सहयोग आदान प्रदान गर्ने र यी सहरबीच भगिनी सम्बन्ध कायम गर्न सबै सहमति भएको नगर प्रमुख आचार्यले जानकारी दिए । उनका अनुसार बेलायतका उच्च पदस्थहरुसँग भएको छलफलमा विशेषगरी शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा छलफल भएको थियो । नगरप्रमुख आचार्यले मेचीनगरबासीका तर्फबाट नेपाल र बेलायत तथा नेपाली र बेलायती जनताबीचको भगिनी सम्बन्धलाई अझ मजवुत बनाउन युकेका उच्च पदस्थ अधिकारीहरुलाई मेचीनगर भ्रमणको औपचारिक निमन्त्रणा गरेका छन् ।

बेलायतको फोक्सटन सिटी र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका बारेमा ब्यापक छलफल भएको र फोक्सटन सिटीका मेयरसहितका पदाधिकारीसमेत नेपाल भ्रमणमा आएपछि भगिनी सम्बन्ध स्थापनाको सम्झौता पत्रमा हस्ताक्षर हुने पूर्व काउन्सिलर धनकिरण गुरुङले टेलिफोनमार्फत जानकारी दिए । प्रमुख आचार्यले बेलायत भ्रमणका क्रममा नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउने विषयमा समेत छलफल गरेका थिए । बेलायतमा रहेको नेपाली दूतावासले गरेको कार्यक्रममा पूर्व राजदुत भेषबहादुर थापाको पनि उपस्थिति थियो ।

आगामी फेब्रुअरीमा बेलायती प्रतिनिधि मण्डलले मेचीनगरको भ्रमण गर्ने मिति तय भएको छ । प्रमुख दम्पतिलाई बेलायतको फोक्सटन सिटीमा सरकारी अधिकारीका तर्फबाट स्वागत तथा सम्मान समेत गरिएको थियो । फोक्सटन सिटीका मेयर जे के मिडले स्वागत तथा सम्मान गरेका थिए ।

प्रमुख आचार्यले असोज १६ देखि असोज १९ गतेसम्म विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएर मेचीनगर र बेलायतको फोक्सटन सिटीसहित त्यस क्षेत्रका अन्य सहरहरुसँग द्विपक्षीय सम्बन्ध स्थापित गर्ने विषयमा छलफल गर्नुभएको पूर्व काउन्सिलर धनकिरण गुरुङले जानकारी दिए । नगर प्रमुख आचार्य दम्पतिले बेलायतस्थित शहीद पार्कमा पुगेर शहीदप्रति श्रद्घा सुमन अर्पण गरेका थिए । जहाँ नगर प्रमुख आचार्यको सम्मानमा बेलायती सैनिकले बाजागाजासहित झाँकी प्रस्तुत गरेको थियो ।