झापा । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित ट्वेन्टी-२० क्रिकेट शृंखलाअन्तर्गत् नेपालले आज आयरल्यान्डको सामना गर्दैछ । खेल ओमानको अल अमेरट क्रिकेट मैदानमा हुनेछ । नेपाली समयानुसार बुधबार बिहान सवा ११ बजे खेल सुरु हुनेछ ।

नेपालसामु ऐतिहासिक जित हासिल गर्ने अवसर छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको राष्ट्रिय टोलीले अहिलेसम्म टेस्ट राष्ट्रलाई हराउन सकेको छैन । आयरल्यान्ड टेस्ट मान्यताप्राप्त राष्ट्र हो ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पनि समान ४ विकेटले नै पराजित गरेको थियो ।

आज तेस्रो खेल खेल्न लागेको नेपाल ‘नेट रनरेट’का आधारमा अंकतालिकामा तेस्रो स्थानमा छ । दुई खेलबाट नेपालको ४ अंक छ । आयरल्यान्ड दोस्रो स्थानमा छ । दुई जित र एक हार व्यहोरेको उसले तीन खेलबाट ४ अंक नै जोडेको छ । आयोजक ओमान शीर्ष स्थानमा छ । दुई खेलबाट ओमानको ४ अंक नै छ ।

नेपालले यसअघि सन् २०१५ मा आइसीसी टी-२० विश्वकप छनोटमा आरल्यान्डसित प्रतिस्पर्धा गरेको थियो । त्यतिबेला नेपाल ८ विकेटले पराजित भएको थियो ।

आयोजक ओमान, नेपालसहित आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सबीच शृंखला भइरहेको हो । नेपालले अन्तिम खेल बिहीबार ओमानसित खेल्ने तालिका छ ।