झापा । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । विश्व कप छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल दुवै प्रशिक्षकले अनुमान गरेजस्तो भएन । अष्ट्रेलियाको क्यानबेरामा बिहीबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ५-० गोल अन्तरले पराजित भएको हो ।

जियो स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन जेमी म्याक्लारेनले ह्याट्रिक गरे । यस्तै ह्यारी सुटरले दुई गोल गरे । प्रिम्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक योहान कालिनले भनेजस्तो अप्रत्यासित पनि भएन । त्यस्तै अष्ट्रिेलियाका प्रशिक्षकले भनेजस्तो धेरैभन्दा धेरै गोल पनि भएन । खेलको छैटौं मिनेटमा नै नेपालले गोल खाएको थियो । नेपाली गोलकिपर किरणबाट रिवाउन्डमा आएको बलमा जिमिले गोल गरेका थिए । १९औं मिनेटमा जिमिले अर्को गोल थपे ।

२४ औं मिनेटमा ह्यारीले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरेका छन् । ह्यारीको त्यो डेब्यू गोल थियो । ह्यारीले ५९ मिनेटमा अर्को गोल गरे । उनले हेडमार्फत गोल गरेका थिए । जिमीले अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

जितसँगै समूह ‘बी’ को अष्ट्रेलियाले ३ खेलमा शतप्रतिशत जित निकालेको छ । र, अष्ट्रेलियाले ३ खेलमा ९ अंक जोडेको छ । अष्ट्रेलिया समूहको शीर्ष स्थानमा रहेको छ ।

नेपालको भने यो दोस्रो हार हो । यसअघि नेपालले कुवेतसँग ७-० को हार व्यहोरेको थियो । नेपालले ३ खेलमा ३ अंक जोडेको छ । नेपालले चाईनिज ताइपेलाई २-० ले हराएको थियो ।

अब नेपालले चौंथो खेलमा जोर्डनको सामना गर्नेछ । नेपालले जोर्डनसँग अक्टोबर १५ मा उसैको मैदानमा खेल्नेछ ।

फिफा वरियतामा अष्ट्रेलिया ४४औँ स्थानमा छ भने नेपाल १६१औँ स्थानमा रहेको छ ।