झापा । नेपाली टिमका प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध टोलीबाट सुरुवाती ११ मा ३ खेलाडी परिवर्तन गरे पनि अवे खेलको अन्तिममा जोर्डनविरुद्ध ३-० गोलको हार व्यहोरेको छ । पछिल्लो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका फरवार्ड विमल घर्तीमगर जोर्डनविरुद्ध सुरुवाती रोजाइमा रहेका थिए । उनलाई आक्रमणमा रवी पासवान, सुजल श्रेष्ठ र अन्जन विष्टले साथ दिएका थिए ।

मिडफिल्डको मध्यभागमा रोहित चन्द र सन्तोष तामाङ रहेका थिए । अघिल्लो खेलमा बेन्चबाट आएका सन्तोष विशाल राईको स्थानमा टोलीमा आएका हुन् ।

डिफेन्सको मध्यभागमा अनन्त तामाङ र देवेन्द्र तामाङको जोडीले निरन्तरता पाएको थियो । बायाँ डिफेन्समा सुमन अर्याल र दायाँमा दिनेश राजवंशी रहेका थिए । टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले नै सम्हालेका थिए । प्रशिक्षक कालिनले ४-५-१ को पद्दतिमा नै टोली उतारेका हुन् । अघिल्लो खेलमा सुमनको स्थानमा रंजित धिमाल खेलेका थिए ।

नेपालको लागि विश्वकप छनोटमा यो अन्तिम अवे खेल थियो । यसपछि नेपालले बाँकी रहेको ४ ओटा खेल नै घरेलु मैदानमा खेल्ने कार्यक्रम रहेको छ । यद्यपि दशरथ रंगशाला तयार नहुँदा केही खेल नेपालमै हुनेबारे अन्यौल सिर्जना भएको छ । विश्वकप छनोटमा कुवेतविरुद्ध ७-० को हारसहित यात्रा सुरु गरेको नेपालले चाइनिज ताइपेइलाई २-० ले हराएको थियो । पछिल्लो खेलमा नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित भएको थियो ।

पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा एकपछि अर्को गोल खाएको थियो । जोर्डनले खेलको ५६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता बनाएको थियो । नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । जसमा जोर्डनका फेरास शेल्बाइहले गोल गरे ।

पहिलो हाफमा जोर्डनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफको दुई गोल खाएको छ ।खेलको ८७ औं मिनेटमा अहमेद अल इर्सानले चिप गोल गर्दै जोर्डनलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३-० को सहज जित दिलाए । नेपाललाई हराएसँगै छनोटको समूह ‘बी’ को जोर्डनले ३ खेलमा ७ अंक जोडेको छ । जोर्डन समूहको दोस्रो स्थानमा छ ।

छनोटमा तेस्रो हार ब्यहोरेको नेपालले भने ४ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको चौंथो स्थानमा छ । यस समूहमा ३ खेलमा अपराजित अष्ट्रेलिया ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।