काठमाडौं । आसन्न म्यानमारको यू-२३ टोलीविरुद्ध खेल्ने मैत्रीपूर्ण खेलका लागि यु-२३ नेपाली टोलीको घोषणा भएको छ । टोलीमा नेपाली सिनियर राष्ट्रिय टोलीका स्टार खेलाडीत्रय किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तीमगरलाई विश्राम दिइएको छ । उनीहरुको स्थानमा विक्रम लामा, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ रहनेछन् ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले साग छनोटअन्तर्गत दोस्रो चरणमा रहेका ३२ खेलाडीबाट २४ सदस्यीय टोली घोषणा गरेका हुन् । विमल माल्दिभ्सको टीसी स्पोर्टसबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । किरण यसै सिजन भारतीय आइ लिग क्लब मिनेर्भा पन्जाबमा तथा रोहित इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेलिरहेका छन् । सागमा ३ सिनियर खेलाडी राख्न पाउने प्रवाधान छ । मैत्रीपूर्ण खेलमा सिनियर खेलाडीको रुपमा विक्रम लामा, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ रहेका छन् ।

सागकै तयारीका लागि नेपाली टोलीले कतारको दोहामा म्यानमारको यु-२३ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । खेल २५ अक्टोबरमा हुनेछ । नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ । म्यानमारको टोली साउथ इस्ट एसियन गेम्स (एसइए) को तयारीमा रहेको छ । खेल अक्टोवर २५ मा कतारस्थित दोहा स्टेडियममा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

यू-२३ टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बलियो म्यानमारसँग मैत्रीपुर्ण खेल्ने अवसर पाउनु टोलीका लागि एक्सपोजर हुने यसले १३औं सागको तयारीलाई फाइदा पुग्ने बताएका छन् । विदेशमा खेलिरहेका किरण, रोहित र विमलसहित रोमन रसाइली, असिम भुषाल, एरिक विष्ट, दिपेश आलेमगर र राजेश परियारले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । फरवार्ड राजेश परियार भने डेंगु संक्रमणका कारण प्रशिक्षणमा सहभागी छैनन् ।

नेपाली यु-२३ टोली :

अनन्त तामाङ, अन्जन विष्ट, बिक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ, अर्पन कार्की, दीप कार्की, देव लिम्बु, बिकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल ।