भाउन्ने, मोरंग । यहाँ आयोजित तेस्रो डाँगीहाट गोल्डकप २०७६ को उपाधि डिभाइन वाइन ब्वाइज युनियन क्लब काठमाडौँले चुमेको छ ।

आज सम्पन्न फाइनल खेलमा ब्वाइज युनियनले स्पर्धी धरान फुटबल क्लब सुनसरीमाथि गोलवर्षा गर्यो । ब्वाइज युनियनले ६-० गोलको फराकिलो नतिजाबाट सुनसरीलाई पाखा लगाएर उपाधि रक्षा गरेको हो । ब्वाइज युनियनका लागि तपन कार्कीले ह्याट्रिकसहित ४ गोल गरे ।

उनले खेलको २ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । खेलको १८ र ४६ मिनेटमा गोल गरेर उनले ह्याट्रिक पूरा गरेका थिए भने ६०औँ मिनेटमा अर्को गोल तपनको नाममा रह्यो । बाँकी दुई गोल विदेशी खेलाडीले गरेका थिए । खेलमा मेसुकेले ५३औँ र ६२औँ मिनेटमा ब्वाइज युनियनका लागि गोल गरेका थिए ।

खेलमा ब्वाइज युनियनका खेलाडी विधागत पुरस्कारतर्फ पनि हाबी भए । जसमा तपन कार्की बेस्ट फरवार्ड, ताम्पी इर्नेस्ट बेस्ट डिफेन्स, उमेश कार्की बेस्ट मिडफिल्ड र बेस्ट गोलकिपर लक्की कार्की घोषित भए । उनीहरुले जनही १० हजार पुरस्कार पाए ।

सर्वाधिक गोल गरेका मेसुकेले नगद १५ हजार पुरस्कार पाए । त्यस्तै, राज लिम्बू बेस्ट प्लेयर घोषितहुँदै नगद ३० हजार पाउन सफल भए भने बेस्ट कोचमा पनि ब्वाइज युनियनकै प्रशिक्षक रञ्जित सिंहले नगद १० हजार पाए ।

डाँगीहाट एफसी अरुण लिम्बूले राइजिङ प्लेयरको पुरस्कारस्वरुप नगद १० हजार पाउँदो फाइनल खेलको म्यान अफ दी म्याच ब्वाइज युनियनका कमल श्रेष्ठले नगद ७ हजार पाए ।

जीतसँगै ब्वाइज युनियनले नगद ३ लाख पाउँदा सुनसरीले एक लाख ५० हजारसहित ट्रफी पायो ।