बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ मा ५ वटा ए डिभिजन क्लबसहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने भएको छ । गोल्डकप आयोजक समितिले तयारी पूरा भएको जानकारी दिन आज डोमालाल राजवंशी रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको हो ।

कात्तिक १६ गतेदेखि सुरु हुने गोल्डकपको तयारी पूरा भएको जनाएको आयोजक जायोन स्पोर्टस क्लबले यसअघि ८ वटा टिमले सहभागिता जनाउने बताएको थियो ।

पछिल्लोपटक आयोजकले आफ्नो टिम पनि गोल्डकपमा समावेश गरेको छ । यसअघि तय गरिएको मिति र खेल तालिकामा आयोजक सहभागी थिएन । गोल्डकपको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामक एफसी आमने–सामने हुने भएका छन् ।

प्रतियोगितामा आयोजक जायोन स्पोर्टस क्लब, सिक्किम आक्रामक, संकटा क्लब मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहनेछ ।

यसअघि थ्री स्टार क्लबले सहभागिता जनाउने प्रतिवद्धता जनाए पनि अहिले आउन नसक्ने भन्दै प्रतियोगिताबाट ब्याक भएको छ । थ्री स्टारको ठाउँमा हिमालयन शेर्पा क्लबसँग परामर्श भइरहेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले बताए ।

असोज दोस्रो सातादेखि प्रतियोगिता सुरु हुने तयारी गरिए पनि मौषमको प्रतिकूलताका कारण स्थगित भएको थियो । त्यसपछि आयोजकले अखिल नेपाल फुटबल संघ(एन्फा) सँग कात्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गर्न समय माग गरेको थियो । एन्फाले सो समयमा अन्यत्र प्रतियोगिता भएको हुनाले समय दिन नसकेपछि कात्तिक १६ को मिति तय भएको हो । एन्फासँग भएको सहमतिसँगै कात्तिक २५ गते फाइनल हुने गरी प्रतियोगिता हुन लागेको छ ।

प्रतियोगिताका लागि लगभग ५ हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनाश राईले जानकारी दिए । उनले १० हजार दर्शकले खेल अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताए । राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ब्राण्ड एम्बेसेडर बनाएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउँने छन् ।

गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ र बिर्तामोडका युवाव्यवसायी सजेश सिवाकोटीले उक्त मोटरसाइकल प्रायोजन गरेका हुन् ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।