रोहित काफ्ले,
झापा । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना साकार पार्न कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा लाग्नु पर्नेमा जोड दिनुभएको छ ।

सत्तारुढ नेकपा झापा, स्थानीय तह परिचालन विभागले आयोजना गरेको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आज अन्तिम दिन नेकपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै मन्त्री पोखरेलले कृषिलगायत विकासका पाँच क्षेत्र पहिचान गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पोखरेलले प्रशस्त संभावना रहेको जलविद्युत, पर्यटन र पूर्वाधार विकासमा तीनै तहका सरकारले लगानी बढाउनुपर्ने भन्दै यी क्षेत्रको विकासबाट मात्र समृद्धि सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले आवश्यकतामा आधारित उद्योगहरु मात्र स्थापना गर्नुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासका लागि भूउपयोग नीति आवश्यक रहेको बताउनुभयो ।

पार्टीको केन्द्रीय सचिवालय सदस्य एवम् स्कूल विभागको प्रमुखसमेत रहनुभएका मन्त्री पोखरेलले कम्युनिष्ट आचरण र नैतिकतासँग मेल नखाने काम नगर्न पनि नेकपाका सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले कार्यकर्ताले पार्टीको सिद्धान्त र कम्युनिष्ट आन्दोलनको इतिहास जान्न अत्यन्त आवश्यक रहेको भन्दै स्कूल विभागले तहगत रुपमा प्रशिक्षणका अरु कार्यक्रम पनि सञ्चालन गर्दै जाने बताउनु भएको थियो ।

कार्यक्रममा नेकपाका नेता राम कार्की, बेदुराम भुषाल, देवेन्द्र पौडेललगायतले प्रशिक्षण दिनुभएको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिनु भएको छ ।