गिरिराज बाँस्कोटा,
घुन्सा (ताप्लेजुङ) । कञ्चनजंघा बेस क्याम्प जाने बाटोमा पर्ने घुन्सा बजारको रुपमा विकसित भएको छ। ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पर्ने यो ठाउँमा नयाँ चिटिक्क परेका घर तथा होटल खुल्ने क्रम बढ्दै छ। अन्य सुविधा थपिने क्रम पनि जारी छ। स्वास्थ्य चौकी, विद्यालय भवन राम्रा छन्। घुन्सा नेपाल सरकारले पर्यटकीय गन्तव्यको सूचीमा राखेको ठाउँसमेत हो।

यहाँ दैनिक विदेशी पर्यटक आउँछन्। आन्तरिक पर्यटक पनि आउँछन्। तर यहाँका बासिन्दा तथा आगन्तुकलाई सुरक्षार्थ राखिएको प्रहरी चौकीको अवस्था भने दयनीय छ। कटेरो जस्तो संरचनामा प्रहरी कार्यालय छ।

घुन्सामात्र हैन कञ्चनजंघा बेस क्याम्प, कुम्भकर्ण वेस क्याम्प जाने पर्यटकदेखि भारतको सिक्किम र चीनको सिमानासम्मको सुरक्षाका लागि खटिएको प्रहरी कटेरो जस्तो घरमा बस्न बाध्य छ। घुन्सामा ठूलाठूला घर बनेको छन् तर भाडामा रहेको प्रहरी चौकीको सार्ने अथवा नयाँ घर बनाउने काम अघि बढ्न नसक्दा यहाँ खटिएका प्रहरी कर्मचारीको अवस्था कष्टप्रद छ।

‘पहिला प्रहरी भवन भत्काउने, आगो लगाउने अहिले सत्तामा पुगेका छन् तर प्रहरी कष्ट भोग्न बाध्य छन्।’

देश तथा विदेशबाट आएका पर्यटकले प्रहरी चौकीको दयनीय अवस्था देखेर आश्चर्य मान्छन्। एउटा कमजोर संरचना भएको घरमा प्रहरी छ। रुखका हाँगाले प्रहरी कार्यालय रहेको घरको बेरबार गरिएको छ। एउटै कोठा बारेर किचन तथा सुत्ने प्रबन्ध गरिएको छ। पक्राउ परेका मान्छे राख्ने ठाउँ छैन। घरको ठाउँठाउँमा प्वाल छन्। सीमा प्रहरी चौकी घुन्सा भनेर लेखिएको बोर्ड छ। तर, झट्ट हेर्दा प्रहरी चौकी भनेर विश्वास गर्ने अवस्था छैन। कार्यरत प्रहरीका अनुसार पानी पर्दा छानो चुहिन्छ। दैनिक गतिविधि सञ्चालनका लागि कोठा पनि छैन।

दस वर्षे द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले प्रहरी भवनमा आगो लगाइदिएपछि नयाँ भवन बन्न सकेको छैन। ‘यत्रो मान्छेको जमघट हुन्छ। बोर्डमा त सीमा प्रहरी चौकी लेखिएको छ तर प्रहरी कटेरो जस्तो असुरक्षित घरमा बस्नु परेको छ। यसबाट विदेशमा हाम्रो नराम्रो अवस्थाको जानकारी गएको छ। पानी पर्दा छानो चुहिन्छ। हिउँ पनि भित्र पस्ने अवस्था छ’, स्थानीय अगुवा हिमाली चुङ्दा शेर्पाले भने, ‘पहिला प्रहरी भवन भत्काउने, आगो लगाउने अहिले सत्तामा पुगेका छन् तर प्रहरी कष्ट भोग्न बाध्य छन्। प्रहरी साथीभाइको दुःखको त कुरै नगरौं।’

प्रहरी चौकीको भवन तुरुन्त बनाउनुपर्ने स्थानीयको माग छ। वार्षिक २५ हजार रुपैयाँ भाडा तिनुपर्ने कटेरोजस्तो घरमा प्रहरी बस्दा सुरक्षा प्रदान गर्न पनि समस्या भएको छ। विभिन्न उजुरी लिएर कार्यालयमा आएकालाई चौरमा बसालेर छलफल गर्नुपर्ने बाध्यता छ। हिउँदभरि यो क्षेत्रमा बाक्लो हिउँ पर्छ। धेरैजसो यहाँका बासिन्दा जाडो छल्न औलतिर झरे पनि प्रहरी यहीं बस्छ।

प्रहरी चौकी भवन बनाउन पटकपटक पहल भए पनि सम्भव नभएको स्थानीय छेतेन डण्डु शेर्पा बताउँछन्। ‘जनताको तहबाट मात्र पहल भयो। यो अतिदुर्गम पनि भएकाले हाम्रो माग कतैबाट सुनुवाइ भएन’, उनले भने, ‘जग्गा त छ तर भवन बन्न सकेको छैन। तिब्बत जाने तथा सिक्किम जाने बाटो यहींबाट छ।’ नागरिक दैनिकबाट