झापा । हिमालयन टेलिभिजनमा प्रशारण हुँदै आईरहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा आफुलाई अब्बल साबित गर्दै लाईभ राउण्डमा झापा बिर्तामोडका २३ वर्षीय राम लिम्बुले प्रवेश पाएका छन् ।

टिम प्रमोदमा रहेका उनको लोभलाग्दो गायन कलाले दर्शकको मन जित्दै टप १२ सम्म पर्न सफल भएका हुन् । झापाको हल्दिबारीमा जन्मिएका राम हाल बिर्तामोडका स्थायी बासिन्दा हुन् । बिर्तामोडमा बिगत ५ बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय नेपालिसियन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी आफ्नो सांगितिक यात्रामा सिनियर दाइ आशिष बुढाथोकीसँग सहकार्य गरेको बताए ।

ग्लोरी स्कुलमा कक्षा १० सम्मको अध्ययन पश्चात् बाल्मिकी प्रोभिडियन्स कलेजमा अध्ययनरत उनी पूर्वबाट रियालिटी सोहरुमा सफलता पाउन नसकिरहेका अवस्थामा आफुले दर्शकको भरपुर साथ सहयोग पाउनेमा आशाबादी रहेका छन् । भोटिङ आगामी शुक्रबार बेलुका कार्यक्रम शुरु भएसँगै शुरु हुनेछ । कार्यक्रम शुक्रबार र शनिबार बेलुका ८ बजेबाट प्रशारण हुदै आइरहेको छ ।

यसैबीच, बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपका अवसरमा आफ्नो कला प्रस्तुत गर्ने मौका पाएका थिए । उनले यो मन त मेरो नेपाली हो… भन्दै फुटबलप्रेमीको मन जितेका थिए । उनले सबैले भोट दिएको खण्डमा झापाली ठिटोले उपाधि जित्ने विश्वास व्यक्त गरे । उनलाई शनिबार दिउँसो १२ बजेसम्म भोट गर्न सकिन्छ ।