अर्जुनधारा । अर्जुनधारा नगरस्तरीय अन्तर माध्यमिक विद्यालय भलिबल प्रतियोगिताको उपाधि र्सिजना शिशु सदनले हात पारेको छ । शुक्रबार शनिश्चरे माविको प्राङ्ग्रणमा भएको फाइनल खेलमा कालिस्थान माविलाई पराजित गर्दै सिर्जनाले उपाधि उचालेको हो ।

सिजना शिशुले २५-२०, १७-२५ र २५-१७ को सेटमा कालिस्थानलाई पराजित गरेको हो । सिर्जनाले उपाधिसहित नगद ८ हजार र दोस्रो कालिस्थानले ४ हजार प्राप्त गरे । शनिश्चरे बाल क्लब तथा शनिश्चरे माविको आयोजना भएको प्रतियोगिताको फाइनल खेलको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले गरेका थिए ।

शनिश्चरे बाल क्लबका अध्यक्ष डोल्मा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा ८ नम्बरका वडाध्यक्ष गोपीचन्द्र गौतम, नगर खेलकुद विकास समिति संयोजक अर्जुन मेचेलगायतको आतिथ्यता रहेको थियो ।

शनिश्चरे माविका प्र.अ चेतामणी खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कपिलदेव तिम्सिनाले गरेका थिए । यही मंसिर ४ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरक्षेत्रका १३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।