अर्जुनधारा । अर्जुनधारा ६ स्थित दीपज्योति विद्या मन्दिरको खेल मैदानमा झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक कप्तानबारी युवा क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी मंसिर १२ गतेदेखि तेस्रो संस्करण आयोजना गर्ने जानकारी दियो ।

आयोजक क्लबका अध्यक्ष श्याम दनुवारका अनुसार प्रतियोगितामा झापाका ८ वटा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा सशस्त्र प्रहरी झापाको एपीएप टिमसँगै शनिश्चरे एफसी, धुलाबारी एकाडेमी, झापा एफसी, बिर्तामोड युनाइटेड, आयोजक कप्तानबारी युवा क्लब, रेड स्टार क्लब र मनास्लु युवा क्लब रहेका छन् ।

शनिश्चरे एफसी र धुलाबारी एकाडेमीबीच उद्घाटन हुने खेलको प्रत्येक म्यान अफ दी म्याचलाई नगद एक हजार र म्यान अफ दी टुर्नामेन्टलाई नगद २ हजार प्रदान गरिने अध्यक्ष दनुवारले जानकारी दिए । उनका अनुसार बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट कोच, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड र हाइ स्कोररलाई नगद एक हजार पाँच सय पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार पाउँदा उपविजेताले २० हजार र ट्रफी पाउनेछ ।