सुरुङ्गा । यही मंसिर २८ गते शनिबारदेखि कनकाई मावि सुरुङ्गाको खेल मैदानमा चौथो पालिकास्तरीय कनकाई नगरकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक कनकाई खेलकुद प्रतिष्ठानले हिजो सुरुङ्गास्थित एसपी क्याफेमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा गरिसकेको जानकारी गरायो ।

प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले अघिल्ला संस्करणभन्दा यसवर्ष पुरस्कारको राशिमा समेत बृद्धि गरिएको जानकारी दिनुभयो । विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पाउने छन् ।

प्रथम पुरस्कार कनकाई नगरपालिका र दोस्रो पुरस्कार अघिल्लो संस्करणको विजेता झापा गाउँपालिकाले प्रायोजन गर्नेछन् । प्रतियोगितामा हरेक म्याचको म्यान अफ दी म्याच र फाइनलका दिन विधागत तर्फका खेलाडीलाई नगदसहित पुरस्कृत गरिने भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाबीच हुने खेलाडी व्यवस्थापन समितिका संयोजक विनोद राना मगरले बताउनुभयो ।

प्रतियोगितामा कनकाई नगरपालिकासहित बुद्धशान्ति, गौरीगंञ्ज, झापा, बाह्रदशी, हल्दिबारी र कमल गाउँपालिका तथा बिर्तामोड, शिवसताक्षी, दमक र अर्जुनधारा नगरपालिकाको सहभागिता रहनेछ ।

प्रतियोगिता सम्पन्न गर्न राजेन्द्र उप्रेतीको संयोजकत्वमा १७ सदस्यीय मुल समिति र विभिन्न उपसमितिहरुको समेत निर्माण गरिएको छ । पत्रकार सम्मेलनमा कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेती लगायतले पत्रकारको जिज्ञासाको उत्तर दिनुभएको थियो । रनिङ शिल्ड प्रतियोगिता रहेको तेस्रो संस्करण झापा गाउँपालिकाले जितेको हो ।