एजेन्सी । इरानका सैन्य प्रमुख जनरल कासिम सुलेमानीको शवयात्रामा भएको भागदौडमा ३५ जनाको मृत्यु भएको बताइएको छ।

इरानको रिवोल्यूसनरी गार्डको विदेशमा रहेर काम गर्ने सेना कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानीलाई इराकको बगदाद विमानस्थलबाट बाहिर निस्कँदा अमेरिकाले ड्रोन आक्रमण गरी मारेको थियो ।

मंगलबार सुलेमानीको शवयात्रामा भएको भागदौडमा परी ३५ जनाको मृत्यु भएको र ४८ जना बढी घाइते भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।

सुलेमानीको गृहनगरमा अन्तिम संस्कार हुन लागेको बेला भागदौड मच्चिएको जनाइएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

सोमबार १० लाखभन्दा बढी मानिस उनकोे शवयात्रामा जम्मा भएको जनाइएको छ । सोमबारको सो शवयात्रामा सर्वोच्च नेता आयातुल्ला खामेनी समेत सहभागी भएको जनाइएको छ ।

इरानले आफ्ना सैन्य कमाण्डरको मृत्युको बदला लिने बताएको छ । अमेरिकाले यदि इरानले अमेरिकी र अमेरिकालाई क्षति पुग्ने कुनै काम गरे इरानका ५२ सांस्कृतिक स्थानमा आक्रमण गर्ने चेतावनी दिएको छ ।