काठमाडौं । नेपाल बास्केटबल लिग (एनबीएल) थ्री अन थ्री वेष्ट प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ ।

आयोजक नेपाल बास्केटबल लिग (एनबीएल) र प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २९ गतेबाट सुरु हुने जनाएको हो ।

एनबीएल थ्री अन थ्री वेष्ट प्रतियोगिता पोखरा, बुटवल र धनगढीमा हुनेछ । प्रतियोगिताका लागि मुख्य प्रायोजकको रुपमा खेलकुद सामग्री उत्पादक कम्पनि लिनीङ जोडिएको छ । लिनीङले प्रतियोगितालाई १० लाख बराबरको प्रायोजन गरेको हो ।

पोखरामा पुस २९ र ३० गते हुनेछ । पोखरामा कम्तिमा २० टोलीको सहभागिता रहनेछ । यस्तै १४ टिमको सहभागिता रहने बुटवलको लेग माघ ४ गते हुनेछ । यस्तै धनगढीमा माघ ६ गते हुनेछ ।

पहिलो चरणमा तीनै स्थानका टोलीलाई नकआउटका आधारमा प्रतिस्पर्धा गराईने छ । तीनै स्थानका पहिलो र दोस्रो टोलीले धनगढीमा हुने फाइनल चरणका लागि स्थान बनाउने छन् ।

फाइनल चरणको खेल माघ ८ र ९ गते हुनेछ । एनबीएल थ्री अन थ्री बास्केटबलको हरेक टिममा ४ खेलाडी रहने छन् । र, खेलमा सबैभन्दा पहिले २१ अंक प्राप्त गर्ने टिमलाई विजेता घोषणा गरिनेछ ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउने छन् । यस अघि आयोजकले एनबीएल थ्री अन थ्री इस्टको आयोजना गरिसकेको छ ।

यसैबीच, प्रायोजक लिनीङका नेपाल कन्ट्री हेड राजेन महर्जन र एनबीएलका अध्यक्ष नमित बहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।