विनोद सापकोटा,
झापा । तीन लाखभन्दा बढी दर्शकले हेर्ने माइपश्चिम झापाको लोकप्रिय सताक्षी गोल्डकपको तयारी सुरु गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन पहिलो साताको खेल तालिका सार्वजनिक गरेपछि आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले तेश्रो संस्करणको तयारी सुरु गरेको हो ।

माइपश्चिम झापाको ठुलो धनराशिको सताक्षी गोल्डकपमा झापासहित पूर्वका इलाम, पाँचथर, मोरङ्ग र सुनसरीका दर्शकले हेरेर मजा लिने गरेका छन् । शिवसताक्षी नगरपालिका ११ झिलझिलेस्थित गणेशमानसिंह प्राविधिक शिक्षालयको खेलमैदानमा यो सताक्षी गोल्डकप हुने गरेको छ ।

आयोजकले पहिलो र दोश्रो संस्करणको भव्य सफलता पाएपछि तेश्रो संस्करणको तयारीमा आयोजक जुटेको हो । तेश्रो संस्करणको तयारीका लागि आयोजकले पहिलो चरणमा मैदान सम्याउने, झार काट्ने र घेराबारा गर्ने काम सुरु गरेको छ ।

आयोजकलाई अहिले स्थानीय झिलझिले भेट्रानले सहयोग गरेको छ । बिहीबारदेखि झिलझिले भेट्रानले घेराबारा, मैदान चिस्याउने र सम्याउने लगायतका काम गरिरहेको आयोजक क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए । १८ खेलाडीसहित आयोजक तयारीमा जुटेको भेट्रानका उपाध्यक्ष प्रदिप कार्कीले बताएका छन् ।

आयोजकले १० हजार दर्शक बस्न मिल्न अस्थायी प्यारापिट मैदानको चारै दिशामा निर्माण गर्नेछ भने आकर्षक डिजाइनको स्टेज निर्माणको तयारी पनि सुरु गरेको छ । आयोजकका अनुसार पूर्वपश्चिम राजमार्गमा प्रतियोगिताका अतिथि, खेलाडी तथा दर्शकको स्वागतद्वार निर्माण हुनेछ । प्रतियोगिता सम्पन्न गर्न विषयगत उपसमिति गठन यसै सातामा गर्ने आयोजक समितिका अध्यक्ष रमेश लावतीले जानकारी दिए ।

सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोश्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले जितेको थियो । आयोजकले खेलमा सहभागी हुने नेपालका ए डिभिजनका टिम र लागत अनुमानित आम्दानी, खर्चको विवरण पत्रकार सम्मेलन गरेर माघ पहिलो सातामा सार्वजनिक गर्ने जनाएको छ ।

स्पोन्सर खोज्दै आयोजक
सताक्षी गोल्डकप पहिलो र दोश्रो संस्करणको स्पोन्सर गोर्खा ब्रुअरीले गरेको थियो । तेश्रो संस्करणका लागि आयोजकले कर्पोरेट कम्पनीसँग लविङ्ग सुरु गरेको जनाएकोे छ ।

आयोजकले प्रतियोगिताको टाइटल दिने गरी स्पोन्सर खोजिरहेको हो । आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङका अनुसार १ नम्बर प्रदेशका झापा, मोरङ, इलाम, पाँचथर र सुनसरीलगायत सिमावर्ती भारतका पश्चिम बंगाल र विहारका फुटबल फ्यानले सताक्षी गोल्डकप हेर्ने गरेका छन् ।