राजु पौडेल,
झापा । झापामा व्यवसायिक पशुपालन गर्ने कृषकको संख्या बढेसँगै कृषकले साइलेज प्रविधिको घाँस प्रयोग गर्न थालेका छन् । अन्य आहारको तुलनामा कम लागत पर्ने र हरियो घाँसबाट बनाइने साइलेज घाँस पशुलाई खुवाउँदा दूध उत्पादनमा समेत वृद्धि भएपछि यसतर्फ कृषक आर्कषित भएका हुन् ।

पशुआहारको समस्या हुन थालेपछि झापाका पशुपालक किसान साइलेज घाँसको उत्पादनमा आर्कषित हुन थालेका छन् । हरियो घाँसलाई गुन्द्रुक जस्तै प्रक्रियाबाट बनाइने साइलेज घाँस पशुलाई खुवाउँदा दूध उत्पादनमा वृद्धि भएपछि विशेषगरी व्यवसायिक रुपमा दुग्ध उत्पादक कृषक त्यसप्रति आर्कर्षित भएका हुन् ।

वर्तमान अवस्थामा पशु आहार, दाना, चोकरको मूल्य निरन्तर वृद्धि भएका कारण दुधको उत्पादन लागत बढिरहेको छ । पशुपालनबाट दुध तथा मासु उत्पादन वृद्धि गर्न पशुलाई मुख्यतः हरियो आहार चाहिन्छ । त्यसकारण साइलेज घाँस उत्पादन गर्न उपयुक्त भएकाले यो प्रविधी पशुपालक तथा दुग्ध उत्पादक कृषक रोजाईमा परेको उर्जाशील कृषि परियोजना बिर्तामोडका व्यवस्थापक नरेन्द्र गुरागाईँले बताए ।

यो प्रविधिबाट घाँस उत्पादन गर्न झापाको बाहुनडाँगी, राजगढ, दमक र बाह्रदशी तथा झापा गाउँपालिकाका किसानले मकै खेती लगाएका छन् । पाथिभरा कृषि फर्म दमक, उर्जाशिल कृषि परियोजना प्रालि बिर्तामोड र सहारा कृषि परियोजना प्रालि गरामनीको साझेदारीमा झापाको बाह्रदर्शी गाउँपालिकामा २५ बिघा क्षेत्रफलमा लगाइएको छ ।

एडभन्टा जातको उक्त मकै घोघा लागेपछि सिंङ्गोबोटबाट साइलेज घाँस बनाइन्छ । यसले गर्दा मकैको फेददेखी नै गुलियोपन बढी हुने, हरियोपन समेत रहने भएको हुँदा पशुले बढी रुचाउने गर्छन् । पशुका लागि आवश्यक प्रोट्रिन समेत यो घाँसमा पाइने भएकाले गाईभैसीँमात्र नभएर उन्नत जातका बाख्रापालक कृषकलाई समेत फलदायी भएको अर्जुनधाराका बाख्रापालक कृषक कमल कडरिया बताउछन् ।

पशुपालन तथा दुग्ध उत्पादक संघ झापाका अनुसार संघमा मात्रै ९५ वटा गाईभैसीँ तथा २५ वटा बाख्रा फर्म दर्ता छन् । प्रदेश १ सरकारले समेत साइलेज घाँस उत्पादनमा कृषकलाई अनुदान प्रदान गर्न थालेको छ । संघमार्फत् बेज साइलेज घाँस उत्पादनका लागि प्रदेश सरकारले ८ करोड रुपैयाँ बजेट छुट्याएर कार्यक्रम अघि बढाएको संघका अध्यक्ष एलपी सिटौलाले बताए ।

पछिल्लो पटक कृषकहरुले पशुपालन गर्ने पद्धती परिवर्तन गर्दै लगेका छन् । जसका कारण पशुपालनमा समेत साइलेज घाँसको प्रयोग गर्न थालेपछि लागत मुल्य घट्नुका साथै पशुको स्वास्थ्यमा सुधार आई गुणस्तीय दुध तथा मासु उत्पादन हुने अवस्था सिर्जना हुँदै गएको छ ।