झापा । सताक्षी गोल्डकपमा तेस्रो संस्करणको अन्तिम सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब भिड्दैछन् ।

६ दिनअघि लिगको फाइनल भिडन्तमा यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । बाजी भने मच्छिन्द्रले मारेको थियो । जीतसँगै मच्छिन्द्रले नेपाली फुटबलको इतिहासमा स्वर्ण अक्षरले आफ्नो नाम राख्न सफल भयो ।

ठीक एक साता नबित्दै झापाको झिलझिलेस्थित गणेशमानसिंह प्रतिष्ठानमा यी दुवै टोली आमने सामने हुँदैछन् । आर्मीले लिगमा भएको हारको बद्ला लिन्छ कि मच्छिन्द्रले आफ्नो दबदबा कायमै राख्छ ? ९० मिनेटभित्र थाहा हुनेछ ।

आजको खेल जीतसँग मात्र तुलना गरिएको छैन, प्रतिष्ठाको लडाइँ पनि हो । उपाधिका लागि दाबेदार मानिएको दुवै टोलीले दिउँसो २ बजे प्रतिष्पर्धा गर्नेछ ।

जीतसँगै एक टोली फाइनल प्रवेश गर्नेछ । हिजोको खेलबाट थ्री स्टार क्लब फाइनलमा पुगिसकेको छ । सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको विजेताले नगद ६ लाख पाउनेछ ।