बुद्धशान्ति । पूर्वेली युथ क्लब बिर्तामोड बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नास्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो क्वाटरफाइनल खेलमा पुर्वेली युथ क्लब बिर्तामोडले मेची नेत्रालय काँकरभिट्टालाई २–१ गोलअन्तरमा पराजित गर्दै उपाधिमाथि आफ्नो दाबेदारी प्रस्तुत गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको तेस्रो मिनेटमा पुर्वेली युथ क्लब बिर्तामोडका बिनोद मेचेले पहिलो गोल गरेका थिए भने खेलको २५औँ मिनेटमा पुनः बिर्तामोडका बालकृष्ण राईले दोस्रो गोल गरे । खेलको ४१औँ मिनेटमा बिर्तामोडका खेलाडीले गरेको प्रहारलाई गोललाइनमा मेची नेत्रालय काँकरभिट्टाका पर्शु राईले हातले रोकेपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि काँकरभिट्टा ८ खेलाडीमा सीमित हुनु परेको थियो । तर, खेलको ५८औँ मिनेटमा काँकरभिट्टाका दिनेश मुर्मुले १ गोल गरे ।

खेलको म्यान अफ दि म्याच बिर्तामोडका राजकुमार लिम्बु घोषित भए । प्रतियोगितामा भोलि (सोमबार) आयोजक सिर्जनशील युवा समाज र न्युस्टार क्लब खोपबाडीबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछ ।