अरुण नेपाल,
आज हामी नेपाली जनता कोरोना भाइरसले सिर्जना गरेको निकै अनौठो युद्धको सामना गरिरहेका छौं । हामी आआफ्ना घर वा कोठैमा बसी बसी यो अनौठो युद्धको निकै नौलो अनुभूति गरिरहेका छौं । यस्तो अकल्पनीय युद्ध हाम्रो जीवनमै पहिलो अनुभूति हो । हामी टेलिफोन, अनलाइन र सामाजिक संजालमार्फत आफन्तजनलगायत संसारसंग जोडिएका छौं । प्रायः राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा विभाजित हुँदै आएका हामी नेपाली जनता आज ती सबैखाले आग्रह पूर्वाग्रहभन्दा माथि उठेर नेपाल सरकारले चालेका हरेक कदमलाई बलियो साथ सहयोग गरिरहेका छौं ।

आज हामी सबै जनताको एउटै मात्र मुद्दा र नारा छ “आफू बचौं, अरूलाई पनि बचाऔं” । यसरी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा निकै अनौठो अनुभूति गरिरहेका हामी नेपाली जनताले यो विपत्तिलाई सामना गर्न नेपाल सरकारले चालेका हरेक कदमलाई साथ दिनुका अलावा नेपाल सरकारबाट थप अपेक्षा समेत गरेका छौं । यस्तो जनअपेक्षा पूरा गर्न संघीय सरकार मात्र नभएर तीनै तहका सरकारले एकीकृत रूपमा काम गरे हुन्थ्यो भन्ने अपेक्षा छ ।

अझ जनतासँग प्रत्यक्ष जोडिने स्थानीय सरकारको प्रभावकारी भूमिका होस् भन्ने जनअपेक्षा छ । कोरोना भाइरसको विश्वव्यापी महामारीलाई तह लगाउन तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनु त आज एउटा अनिवार्य शर्त नै बन्दैछ । त्यो भन्दा पनि बढी जनतासँग प्रत्यक्ष जोडिएका जनसरोकारका सवाल सम्बोधन गर्न स्थानीय सरकारले अझ प्रभावकारी भूमिका खेले हुन्थ्यो भन्ने ठूलो जनअपेक्षा छ ।

जनताका अनेक अपेक्षामध्ये यो विपतको घडीमा निम्न बमोजिमका छ कार्यचाहिँ तत्काल भए हुन्थ्यो भन्ने जनअपेक्षा छ :
१. सर्वप्रथम स्वास्थ्यसँग सम्बन्धित सबै स्वास्थ्यकर्मीले कोरोना भाइरसको शंका लागेका हरेक व्यक्तिको बिना कुनै डर त्रास निर्धक्कसँग उपचार गर्न सक्ने गरी प्रत्येक स्वास्थ्यकर्मीको सुरक्षा गर्ने कार्यमा सात सय एकसठ्ठी सरकारले नै ठोस कदम चालून् । हरेक स्वास्थ्यकर्मीको मनोवल सदासर्वदा उच्च राख्न कुनै कसर बाँकी नराखुन् ।

२. उच्च मनोवलका साथ स्वास्थ्य सेवा प्रदान गर्न तयार स्वास्थ्यकर्मीलाई कम्तिमा सात सय त्रिपन्न स्थानीय तहमा व्यवस्थित ढंगले तत्काल खटाइयोस् । फलस्वरूप सामान्य रूघाखोकी लागेका हरेक जनता आफूलाई कोरोना भाइरस भए नभएको कुरा पहिचान भइ ढुक्कसँग घरभित्र बस्न सक्ने वातावरण बनाउन ती स्वास्थ्यकर्मी सफल बनून् ।

३. कोरोना भाइरसबिरूद्धको युद्धमा लड्न तयार ती स्वास्थ्यकर्मी र जनताको प्रभावकारी व्यवस्थापनका लागि सुरक्षाकर्मीलाई विशेष जिम्मेवारीका साथ तत्काल खटाइयोस् । सबै सर्वसाधारण जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै अहोरात्र खट्न तयार ती स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अत्यन्तै पारदर्शी ढंगले बिना कुनै भेदभाव विशेष सेवासुविधा उपलब्ध गराउन तीनै तहका सरकारले कुनै कसर बाँकी नराखुन् ।

४. परेका बेला नेपाल आमाको हितलाई केन्द्रमा राखेर जस्तोसुकै सेवा प्रदान गर्ने सपथ खाएर राज्य कोषबाट सेवासुविधा लिने हरेक राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राध्यापक आदि सबैलाई आवश्यक स्वास्थ्य सुरक्षाको प्रवन्ध मिलाएर उपयुक्त जिम्मेवारी प्रदान गर्न तीनै तहका सरकारले तत्काल आवश्यक गृहकार्य थालुन् । फलस्वरूप राज्यकोषबाट सेवा सुविधा बुझ्ने स्वास्थ्य र सुरक्षाकर्मीलाई मात्र जोखिमपूर्ण जिम्मेवारी दिएर त्यसरी नै राज्यको ढुकुटीबाट सेवासुविधा लिने बाँकी राष्ट्रसेवकलाई पूरै छुट दिएको सन्देश प्रवाह नहोस् ।

बरू त्यसरी सेवासुविधा लिने सबै राष्ट्रसेवकलाई न्याय र समानताका आधारमा समान व्यवहार गरेको सन्देश प्रवाह हुन सकोस् ।
५. यो विश्वव्यापी विपतको समयमा सबैले एक अर्कालाई सहयोग नै मात्र गर्नुपर्ने विशेष परिस्थितिलाई समेत पूरै बेवास्ता गर्दै मास्क, खाद्यान्न लगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने कालाबजारियालाई सबै जनताले महशुस गर्ने गरी हदैसम्मको कार्वाही गर्न तीनै तहका सरकारले तत्काल प्रभावकारी कदम चालून् ।

६. सबै जनता घरमै बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको र प्रत्येक दिन कडा परिश्रम गरेर मात्र मुखमा माड लगाउँदै आएका विपन्न वर्गका जनतालाई आवश्यक खाद्यान्नको अभावमै ज्यान जोगाउन आपत पर्ने प्रवल सम्भावना देखिन्छ । भोको पेटको पीडा सहन नसकेपछि ती जनता कोरोना भाइरसको आतंकलाई चुनौति दिँदै घर बाहिर निस्कन सक्ने खतरालाई मध्यनजर गर्दै तीनै तहका सरकारले विशेष राहत तथा सहयोगको कार्यक्रम घोषणा गरी त्यस्तो राहत र सहयोग वास्तविक पीडितका पहुँचमा पुर्याउन तीनै तहका सरकार युद्धस्तरमा जुटुन् ।

तत्काललाई जनताका यी छ वटा अपेक्षा पूरा गर्न तीनै तहका सरकारले प्रभावकारी कदम चालेको कुरा अनुभूति गर्न नेपाली जनता सफल भए भने ती सफल जनताको बलियो साथ र सहयोग लिएर नेपाल सरकारले कोरोना भाइरसविरूद्धको यो विश्वयुद्धमा थप प्रभावकारी कदम चाल्न सक्नेछ । तीनै तहका सरकारको तत्काल ध्यानाकर्षण होस् ।

लेखक महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका प्राध्यापक हुन् ।