काठमाडौं । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण स्पेनमा देखिएको छ ।
स्पेनमा कुल संक्रमित २ लाख २६ हजार ६२९ पुगेको छ । यो अमेरिकामा संक्रमित हुनेको तुलानामा करिव ७ लाखले कम हो ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २८८ जनाको मृत्यु भएको छ भने २ हजार ८७० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ मृतक र संक्रमित दुबै कम भएको छ । यसअघि शनिबार संख्या ३७८ जनाको मृत्यु भएको थियो भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका थिए ।
सोमबार विहान यो समाचार तयार पार्दासम्म १ लाख १७ हजार ७२७ जना उपचारपछि निको भएका छन् ।
८५ हजार ७१२ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यसैबीच, कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या क्रमिक रुपमा घट्दै जान थालेको छ ।
आइतबार थप २६० जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २६ हजार ६४४ पुगेको छ ।
यसअघि शनिबार त्यहाँ ४१५ जनाको मृत्यु भएको थियो । मृतकको संख्या घट्दै गएपनि संक्रमितको संख्यामा भने खासै सुधार हुन सकेको छैन ।
शुक्रबार २ हजार ३५७ जना नयाँ संक्रमित देखिएकोमा पछिल्लो २४ घण्टामा पनि त्यहाँ २ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९७ हजार ६७५ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ६४ हजार ९२८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ६ हजार १०३ जनामध्ये २ हजार ९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । एजेन्सी