काठमाडौं । विश्‍वभर कुल कोरोना भाइरस संक्रमितमध्ये एकतिहाई निको भएर घर फर्किएका छन्। जोन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म करिब ३५ लाख बढी कोरोना संक्रमितमध्ये ११ लाख बढी स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन्।

तथ्याङ्कअनुसार विश्वभर ३५ लाख ६ हजार ३ सय ९९ जना संक्रमितमध्ये ११ लाख २९ हजार ८ सय १० उपचारपछि निको भएका हुन्। बिहान ८ः३० बजेको अपडेटअनुसार मृत्यु हुनेको संख्या भने २ लाख ४८ हजार २ सय ८२ पुगेको छ।

कोरोनाको संक्रमण दर पछिल्लो २४ घण्टा यता रसियामा भने तीव्र देखिएको छ। रसियामा आज एकै दिनमा १० हजार ६ सय ३३ जना संक्रमति फेला परेका छन्।

त्यहाँ १ लाख ३४ हजार ६ सय ८७ जना संक्रमित हुदाँ १ हजार २ सय ८० जनाले ज्यान गुमाएका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा भने हालसम्म ६७ हजार ४ सय ४८ जनाले ज्यान गुमाएका छन्।

अमेरिकामा हाल संक्रमितको संख्या ११ लाख ६१ हजार १ सय ९ रहेको छ। त्यहा आज मात्रै ३ सय ३५ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। बेलायत र इटालीमा भने मृतकको संख्या लगभग बराबरीमा पुगेको छ।

इटालीमा २८ हजार ७ सय १० जना र बेलायतमा २८ हजार १ सय ३१ जनाले ज्यान गुमाएका छन्। इटालीमा २ लाख ९ हजार ३ सय २८ जना र बेलायतमा १ लाख ८२ हजार संक्रमित छन्।

स्पेन र फ्रान्समा पनि ज्यान गुमाउनेहरुको संख्या बढ्दो छ। स्पेनमा २५ हजार १ सयले ज्यान गुमाउँदा फ्रान्समा २४ हजार ७ सय ६० जनाको मृत्यु भएको छ। स्पेनमा २ लाख ४५ हजार ५ सय ७६ जना संक्रमित छन् भने फ्रान्समा १ लाख ६८ हजार ३ सय ९६ जना संक्रमित भेटिएका छन्।

यतिबेला कोरोना भाइरस जमर्नी, टर्की, इरान, ब्राजिल क्यानडा, बेल्जियम, पेरु, नेदरल्याण्ड, स्विजरल्याण्ड, साउदि अरेबिया, पोचुगल र स्वीडेनमा तीव्ररुपमा फैलिरहेको छ। एजेन्सी