नयाँदिल्ली । बंगालको खाडीबाट विकसित शक्तिशाली समुद्री आँधी ‘अम्फान’ का कारण भारत र बंगलादेशमा कम्तीमा ८४ जनाको ज्यान गएको छ । दुवै देशमा ठूलो धनमालको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीका कारण भारतको पश्चिम बंगाल र उडिसा राज्य निकै प्रभावित भएका छन् । अम्फान उडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा बुधबार अपराह्न प्रवेश गरेको थियो । त्यसको असरस्वरूप प्रतिघण्टा १ सय ८५ किलोमिटरभन्दा बढीको गतिले आएको डरलाग्दो आँधीले उक्त क्षेत्रमा ठूलो परिमाणमा जीउधनको क्षति पुर्‍याएको हो ।

अम्फानका कारण पश्चिम बंगालमा मात्र ७० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ भने छिमेकी उडिसामा २ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बंगलादेशमा कम्तीमा १२ जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारीले पूरै भारतलाई आतंकित पारिरहेका बेला अम्फानले थप अर्को संकट निम्त्याएको छ ।

समुद्री आँधीका कारण सबैभन्दी बढी क्षति पश्चिम बंगालका कोलकाता, पूर्व मिडनापुर र हाउडा जिल्लामा भएको बताइएको छ । त्यसका क्षेत्रका दर्जनौं घरहरु भत्किएका छन् । बुधबार साँझदेखि नै कोलकाता र आसपासका क्षेत्रमा बिजुली र फोन अवरुद्ध भएको थियो ।

कोलकाता सहरमा मात्र १२ जनाको ज्यान गएको छ । अधिकांशको आँधीका कारण ढलेका ठूला रूखहरुले किचेर मृत्यु भएको बताइएको छ । आँधीसँगै भएको घनघोर वर्षाका कारण नदीको सतह बढ्दा त्यस भेगका धेरै ठाउँ जलमग्न भएका छन् । कोलकाता विमानस्थल जलमग्न भएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृत्यु भएकाहरुको परिवारका लागि राहतस्वरूप प्रतिव्यक्ति २ लाख भारु सहयोगको घोषणा गरेकी छन् । मुख्यमन्त्री बनर्जीले पछिल्लो विपद्ले कोभिड १९ महामारीसँगै थप अर्को संकट निम्त्याएको बताएकी छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आँधी प्रभावित क्षेत्रको अवलोकन गर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले बिहीबार ट्वीट गर्दै पछिल्लो विपद्सँग जुध्न उडिसा र पश्चिम बंगाल सरकारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छन् ।

भारतको जल तथा मौसम पूर्वानुमान विभागका अनुसार बिहीबार अपराह्नदेखि समुद्री आँधी बंगलादेशको धु्रवी र रंगपुरतर्फ सोझिएको र यसको प्रभावस्वरूप भारतका पूर्वोत्तर राज्यहरु असम, मेघालय र अरुणाचलमा भारी वर्षा हुनेछ । समुद्री आँधी बंगालदेशका घना बस्तीतर्फ सोझिएकाले ठूलो मात्रामा क्षति हुन सक्ने अनुमान गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमहरुका अनुसार अम्फानका कारण तटीय क्षेत्रका सयौं गाउँका जलमग्न भएका छन् र दर्जनभन्दा बढी बाँधहरु भत्किएका छन् ।

अम्फानका कारण उडिसा, पश्चिम बंगाल र बंगलादेशका केही तटीय क्षेत्रमा घनघोर वर्षा हुने पूर्वानुमानसमेत विभागले यसअघि नै गरेको थियो । विभागको चेतावनीपछि उडिसा र पश्चिम बंगालका तटीय क्षेत्रका २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

विस्थापित हुने मानिसलाई राख्नका लागि पश्चिम बंगाल र उडिसाका सरकारी कार्यालय, स्कुल र कलेजहरुलाई खाली गराइएको छ । ओडिसा र पश्चिम बंगालका प्रवासी कामदारहरुलाई आ–आफ्नो गन्तव्यमा पुर्‍याउनका लागि सुरु गरिएको विशेष श्रमिक रेल सेवा बिहीबारसम्मका लागि बन्द गरिएको छ । त्यसैगरी बिहीबार बिहानसम्मका लागि कोलकाता विमानस्थल पनि बन्द गरिएको थियो ।

सामान्यतस् वर्षाका बेला यस किसिमका सामुद्रिक आँधी आउने गर्छ । अम्फानलाई पछिल्लो दुई दशककै सबैभन्दा खतरनाक चक्रवात अर्थात् सुपर साइक्लोन दाबी गरिएको छ । सन् १९९९ मा आएको यस्तै भीषण चक्रवातले उडिसामा १० हजारभन्दा बढीको ज्यान लिएको थियो भने २ लाखभन्दा बढी गाईवस्तु मारिएका थिए । उक्त चक्रवातबाट ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

सन् २००८ मा बंगालको खाडीबाट उठेको सामुद्रिक आँधी ‘नरगिस’ ले म्यान्मारमा मात्र १ लाखभन्दा बढीको ज्यान गएको थियो । गतवर्ष उडिसामा आएको सामुद्रिक आँधी ‘फणी’ ले ९० भन्दा बढीको ज्यान गएको थियो । आँधीका कारण राज्यका डेढ करोडभन्दा बढी मानिस नराम्ररी प्रभावित भएका थिए । कान्तिपुरमा समाचार छ ।