सिन्धुली । कतिपय जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएपछि क्वारेन्टाइन र आएसोलेसनबाटै संक्रमित फरार हुने गरेको खबर भइरहँदा सिन्धुलीमा भने त्यस्ता संक्रमितहरु म्युजिक डान्स र टिकटकमा रमाई रहेका छन्।

परिवार, आफन्त र समाजमा कोरोनाको त्रास बढीरहे पनि संक्रमितहरु भने उपचाररत आइसोलेसन कक्षमा उच्च आत्मवलसहित रमाई रहेका हुन्। कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएपछि सिन्धुली अस्पतलाको आइसोलेसन कक्षामा उपचार गराइरहेका तीन जना पुरुषहरु हरेक दिनजसो म्युजिक डान्स, टिकटकमा रमाइरहेको भिडियो सार्वजनिक हुने गरेको छ।

अस्पतालमा जिल्लामा पहिलो पटक कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएका कमलामाई १४ रानिवासका २३ वर्षीया पुरुष र दोस्रो पटक एकैसाथ कोरोना पुष्टि भएका कमलामाई ११ का २३ वर्षीया र तिनपाटन गाउँपालिका ३ का २५ वर्षीया पुरुषलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको छ।

तर, उनीहरुमा न त कोरोना भाइरस संक्रमण भएको जस्तो छ न उनीहरुमा कुनै दुःख र त्रास नै। बरु उनीहरु दर्बीलो आत्मबलका साथ सबैलाई प्रेरणा दिनेगरी म्युजिक डान्स, टिकटकमा रमाई रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल बताउँछन्।

‘हामीलाई बरु विमारीको अवस्था के(कसो होला भन्ने चिन्ता छ। उनीहरुमा मानसिक रुपमा केही असरपर्ने होकी भन्ने चिन्ता छ, तर उनीहरुमा त्यस्तो कुनै चिन्ता देखिँदैन। कोरोनाको कुनै त्रास छैन्,’ अध्यक्ष पोखरेले भने। पोखरेलले तिनै जनामा देखिएको उच्च मनोबलको प्रसंशासमेत गरे। अन्नपूर्ण पोष्टबाट