रीना मोक्तान,
काठमाडौँ । कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार एवं निर्माता भुवन केसीले कलाकार संघमा उजुरी दिएका छन् ।

केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै उनले बिहीबार संघमा एक निवदेन दिइ छानबिनको माग पनि गरेका छन् ।

साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्‍नामी भएको भुवनले दाबी गरेका छन् । ‘आजभन्दा ५/६ वर्षअगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’मा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ’, उनको उजुरीमा लेखिएको छ ।

बिहीबार नै केसीले फेसुबकमा स्टाटस लेख्दै साम्राज्ञीलाई मानहानी ‍हुने सामाग्री सार्वजनिक नगर्न भुवनले चेतावनी दिएका थिए । उनले साम्राज्ञीलाई साइबर कानून र मानहानीसम्बन्धि कानून प्रयोग गर्ने पनि बताएका छन् ।

साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको लामो स्टाटसमा सामाजिक सञ्जालमा झुटा लाञ्छना लगाएमा कानुनी उपचारमा जाने चेतावनी पनि उनले दिएका छन् ।

‘आफूलाई ब्रेक दिने पिता तुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटो कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नुभएको सामग्रीहरुको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ !’ उनले लेखेका छन्, ‘अब उप्रान्त तपाईंले म भुवन केसीले विगत करिब ४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठाहरुमा आघात पुग्ने गरी पुन: त्यस्ता मानमर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न हुन सुचित गर्दछु ।’

यसअघि अभिनेत्री शाहले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै म्यानेमेन्टको विषयमा बोल्दा उक्त फिल्मको व्यक्तिले अपशब्द प्रयोग गरेर गाली गरेको कुरा बताएकी थिइन् । ‘अर्को फिल्ममा म्यानेजमेन्ट राम्रो परेन । मैले त्यस फिल्मको व्यक्तिलाई समयमा खान नपाएको, पानी पनि पिउन नपाएको भनेर म्यानेजमेन्ट नराम्रो भयो भनेर भनेको थिएँ’, उनले भनेकी थिइन् ।

यसअघि साम्राज्ञीले इन्स्टाग्राममा आफूलाई तीन ठूला ब्यानारका फिल्मसँग सम्बन्धित व्यक्तिहरुले दुर्व्यवहार गरेको बताउँदै आएकी थिइन् । उनले कसैको नाम उल्लेख नगरे पनि पछिल्लो समय साम्राज्ञीको भिडियो सार्वजनिक हुनासाथ भुवनले फेसबुकमा प्रतिवाद गर्दै स्टाटस लेखेका थिए ।

‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’ उनको स्टाटसमा उल्लेख थियो ।

त्यसपछि भने अभिनेत्री शाहले भुवनलाई संकेत गर्दै भनेकी थिइन्, ‘त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा कोट्याएर के फाइदा । यस्तो कुराहरु नगर भनेर मलाई सम्झाउनु भयो ।’ कान्तिपुरबाट