काठमाण्डौ । नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट फोटो प्रतियोगिताका उत्कृष्ट पाँच फोटो सार्वजनिक गरेको छ ।

लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी सात सयभन्दा बढी फोटोहरुमध्ये उत्कृष्ट पाँच छनोट गरिएको बोर्डले जनाएको छ ।

उत्कृष्ट पाँचमा छनोट भएका फोटोग्राफरहरु प्रबिन श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेका छन् । यस प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठ रहनुभएको थियो ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो । विजयीहरुलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विजयीहरुलाई बधाइ एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि बोर्डको नेपाल प्रवर्द्धन गर्ने अभियानमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।