काठमाडौं । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दिन प्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज पनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च छ । कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले संक्रमित फेला परेको वल्डओमिटरले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र ६३ हजार ९ सय ८६ नयाँ कोरोना संक्रमण भएको पाइएको छ । अमेरिकामा भने पछिल्लो २४ घण्टामा ५३ हजार ४ सय २२ जना नयाँ संक्रमित फेला परेका छन् भने ब्राजिलमा ३८ हजार ९ सय ३७ जना नयाँ संक्रमित फेला परेको वल्डओमिटरले जनाएको छ ।

अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख ८९ हजार २०८ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ५९ हजार ८४ पुगेको छ । शनिबार मात्रै त्यहाँ ९ सय ५० जनाको मृत्यु भएको छ ।

अहिले भातरमा ६ लाख ७२ हजार बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी १८ लाख ६० हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।

धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । एजेन्सी