काठमाडौँ । भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।
डरलाग्दोगरी उक्लिरहेको यो ग्राफ हेर्दा विश्वका बढी प्रभावित देश अमेरिका ब्राजिलको कुल दैनिक संक्रमितभन्दा पनि बढी भारतमै फेला परेका छन् । त्यहाँ शनिबार एकै दिन हालसम्मकै बढी ९० हजार ६०० संक्रमित परेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यो भारतभर मात्र नभएर विश्वमै अहिलेसम्म एकैदिन फेला परेका संक्रमितको सर्वाधिक संख्या हो ।
तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ । अबको केही घण्टापछि नै भारतले ब्राजिललाइ समेत उछिनेर सर्वाधिक संक्रमित हुनेको लहरमा दोस्रो स्थानमा उक्लिने देखिन्छ ।
हाल सर्वाधिक संक्रमित अमेरिका रहेका छन्, त्यहाँ कुल ६४ लाख २९ हजारभन्दा बढी मानिस संक्रमित पुष्टि भएको छ । त्यसपछि ब्राजिलमा कुल ४१ लाख २३ हजार मानिस संक्रमित भएका छन् ।
भारतमा संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । त्यहाँ कोरोनाकै कारण शनिबार १ हजार ४४ जनाले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ ज्यान गुमाउने कुल संख्या ७० हजार ६७९ पुगेको छ ।
भारतमा निको हुनेको दर पनि उत्तिकै बढिरहेको छ । शनिबार एकैदिन त्यहाँ ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म भारतमा कुल संक्रमितमध्ये ३१ लाख ७७ हजार ६७१ जना कोरोनामुक्त भएका छन् भने ८ लाख ६१ हजार ८६६ जनामा भाइरस सक्रिय छ ।
भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार त्यहाँ सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा फेला परेका छन् । शनिबार एकै दिन त्यहाँ ९० हजार ३९७ वटाको परीक्षण गर्दा २० हजार ८०० जनामा संक्रमण फेला परेको हो ।
त्यहाँ शनिबार एक दिनमा ३१२ जनाको ज्यान गएको छ भने कुल २६ हजार २७६ जनाले कोरोनानाकै कारण ज्यान गुमाइसकेका छन् ।
हाल विश्वभर कुल संक्रमित संख्या २ करोड ७० लाख ४४ हजार नाघेको छ । कोरोनाका कारण अहिलेसम्म विश्वमा ८ लाख ८३ हजारबढीको ज्यान गइसकेको छ ।
शनिबार एकै दिनमा विश्वभरि २ लाख ५९ हजारबढी संक्रमित थपिएका छन् भने ४ हजार ६४८ को ज्यान गएको छ । तर एकै दिन २ लाख १० हजार ४८४ जना संक्रमणमुक्त समेत भएका छन् । एजेन्सी