बिर्तामोड । झापामा अहिलेसम्मकै बढी ५५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९ जना महिला रहेका छन् भने ३६ जना पुरुष छन् । एकैपटक १० वटा पालिकामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी दमक नगरपालिकामा २५ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै, बिर्तामोड नगरपालिकाका १५ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमित महिला तथा पुरुष सबै जना स्थानीय हुन् । मेचीनगरका २ जना र भद्रपुरका एक जना संक्रमित बैंकका कर्मचारी हुन् भने बिर्तामोडका ९ जना स्वास्थ्यकर्मी रहेको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिएका छन् ।

उनका अनुसार मेचीनगरका ५ जना पुरुष, भद्रपुरका १ महिला, २ पुरुष, बिर्तामोडका ५ महिला र १० पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, दमकमा ११ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिकामा समान १-१ जना महिला, झापा गाउँपालिका, कनकाई र गौरादहमा समान १-१ जना पुरुष तथा कमल गाउँपालिकामा एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित संख्या पनि ११ सय नाघेको छ । अहिलेसम्म २७ हजार ९०२ जनाको पीसीआर परीक्षण गर्दा ११ सय १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आजसम्म ८८९ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने संक्रिय संक्रमितको संख्या २०९ जना रहेको छ । आजको मितिसम्म १२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।