झापा । अर्जुनधारा ७ मा रहेको शंकर अस्पतालमा बिरामीसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ५ महिला र ४ पुरुष रहेका छन् ।

अस्पतालमा उपचारका लागि आएका ७ नम्बरकै एक पुरुषमा असोज २३ गते संक्रमण पुष्टि भएको थियो । उनलाई ६ दिन राखेर उपचार गरिएको थियो ।

बिरामीमा संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा अस्पतालले आफैँ थ्रोट स्वाब संकलन गराएको थियो । असोज २७ गते गरिएको स्वाबको रिपोर्ट आज आएको हो । जसमा ९ जनाको रिपोर्ट पोजेटिभ छ ।

नगर स्वास्थ्य शाखाका अनुसार संक्रमण पुष्टि भएकामध्ये २ जना स्वास्थ्यकर्मी रहेका छन् । त्यस्तै, ५ जना उपचाररत बिरामी र २ जना बिरामी कुरुवा रहेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

संक्रमित व्यक्ति अधिकांश अर्जुनधारा ८ का रहेका छन् । जसमा ५६, ६५, ३४, ४०, ४९ र ४७ वर्षका छन् । वडा नम्बर ९ का ५२ वर्षीया महिला रहेका छन् ।

त्यस्तै, स्वास्थ्यकर्मीमध्ये बाह्रदशी गाउँपालिका ५ की २८ वर्षीया महिला र मोरङ विराटचोककी २५ वर्षीया महिला रहेकी छन् । संक्रमित सबै स्थानीय बासिन्दा हुन् ।

त्यस्तै, अर्जुनधारा ६ का थप दुई जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये एक जना ९ वर्षीया बालिका रहेकी छन् भने एक जना ५५ वर्षीया महिला छन् ।

नगरका सबै वडाका स्थानीय बासिन्दामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म ११ वटा वडामा ३२ जनामा समुदायका व्यक्ति संक्रमण पुष्टि भएको छ । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा विदेशबाट आएका २७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

नगर स्वास्थ्य शाखाका अनुसार वडा नम्बर १ मा २ जना, २ नम्बरमा १ जना, ३ नम्बरमा ४ जना, ४ नम्बरमा १ जना, ५ नम्बरमा ५ जना, ६ नम्बरमा ७ जना, ७ नम्बरमा १ जना, ८ नम्बरमा ६ जना, ९ नम्बरमा ३ जना, १० नम्बरमा १ जना र ११ नम्बरमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

शंकर अस्पतालमा स्वास्थ्यकर्मी, बिरामी र कुरुवामा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गर्ने वा नगर्ने भन्ने विषयमा नगरको सीसीएमसीको बैठक बसिरहेको छ । अहिलेसम्म नगरका ७ नम्बर वडाबाहेक अन्य वडा कार्यालयहरु विभिन्न मितिमा बन्द भएका छन् ।