झापा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

शुक्रबार थप २१ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ५३१ जनाको परीक्षणमा थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।

शुक्रबार थप ३५ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ । कूल संक्रमितमध्ये ६९.८ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।