इलाम । इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ । मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका-८ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको इलामको यो पहिलो घटना हो । ४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकोमा उनको बाटोमै मृत्यु भएको हो ।

थप उपचारका लागि काठमाडौँ लैजाने बताएपछि बालिकालाई डिस्चार्ज दिइएको विराट मेडिकल कलेज आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । तर, आफन्तले घर लिएर गएका थिए ।

राति घर लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट धनराज यादवले बताए ।