काठमाडौँ । नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा २९ सय ४२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

२४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ घण्टामा २३ सय २६ डिस्चार्ज भएको जानकारी दिए ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २३ सय २६ संक्रमित निको भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । कूल संक्रमितमध्ये ६९.७ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै, आइतबार थप १२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप १२ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।