झापा । पछिल्लो २४ घण्टामा झापा जिल्लामा ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी भद्रपुर नगरपालिकामा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित पुष्टि भएकामध्ये १५ जना महिला, ३१ जना पुरुष छन् । भद्रपुरपछि मेचीनगरमा ९ जनामा संक्रमण भएको छ । बिर्तामोडमा ७ जना, अर्जुनधारामा २ जना, दमकमा ६ जना, बाह्रदशीमा १ जना, कमलमा १ जना, झापा गापामा १ जना र गौरादह नगरपालिकामा २ जनामा संक्रमण भएको हो ।
भद्रपुरका संक्रमितमध्ये ३ जना स्वास्थ्यकर्मी रहेका छन् । ४ महिला र १३ पुरुष संक्रमित सबै स्थानीय हुन् । त्यस्तै, बिर्तामोडमा ३ महिला र ४ पुरुष, मेचीनगरमा ३ महिला ६ पुरुष, अर्जुनधारामा एक महिला, एक पुरुष, दमकमा ३ महिला, ३ पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, बाह्रदशी, कमल, झापा गाउँपालिकामा एक एक जना पुरुष, गौरादह नगरपालिकामा एक महिला र एक पुरुषमा संक्रमण भएको छ । संक्रमित सबै स्थानीय हुन् ।
योसँगै झापामा कुल संक्रमितको संख्या १३३० जना पुगेको छ । कोरोनालाई जितेर हालसम्म ९३९ जना डिस्चार्ज भइसकेका छन् । झापामा सक्रिय संक्रमितको संख्या ३७२ रहँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।