दमक । झापाको दमक नगरपालिका फेरि तीन दिनका लागि बन्द भएको छ । यस्तै दमकमै रहेको आम्दा अस्पताल पनि बन्द भएको छ ।

नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि बन्द भएको हो । नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेले आज एक सूचना निकालेर नगर प्रमुख सहित दुई जना वडा अध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने सवै सेवाहरु बन्द हुने भएको जनाएका छन् ।

पछिल्लो समय जनप्रतिनिधिसहित कर्मचारीहरुमा संक्रमण थपिदै गएको र संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकाका कार्यालय तथा १० वटै वडा कार्यालयहरु बन्द रहने उल्लेख छ । यसअघि पनि नगरपालिका गत असोज २० देखि २३ गतेसम्म पनि बन्द भएको थियो ।

नगरपालिकाले स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी अपनाएर मात्र दैनिक जीवनयापन र व्यवसाय गर्न अनुरोध गरेको छ । यस्तै निषेधाज्ञा पालना गर्न नगरवासीहरुसंग भनेको छ । अब नगरपालिका दशैपछि मात्रै खुल्नेछ ।

यसैगरी, दमकस्थित आम्दा अस्पताल आजदेखि तीन दिनका लागि बन्द भएको छ ।

अस्पतालका स्वास्थ्यकर्मीसहित केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट टे«सिङ तथा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पताल तीन दिनका लागि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश शर्माका अनुसार संक्रमण थप फैलिन नदिन आजदेखि तीन दिनसम्मका लागि अस्पतालका सम्पूर्ण नियमित सेवाहरु वन्द भएका छन् । अस्पतालमा दैनिक ५ सयभन्दा बढी विरामीले उपचार पाउँदै आएका छन् ।