झापा। झापाको अर्जुनधारा नगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक एक ब्यक्तिको निधन भएको छ । कोरोनाबाट निधन हुनेमा बृद्धा रहेकी छन् ।

आज दमक ठेगाना भएका दुई जना कोरोना संक्रमितको निधन हुँदा एक जना बृद्धा अर्जुनधारा नगरपालिका निवासी रहेको बताइएको छ । दुई जनामध्ये मृत्यु हुनेमा एक बृद्ध र अर्का बृद्धा रहेका छन् । दमक नगरपालिका वडा नं ५ की ६७ वर्षीया बृद्धा र वडा नं ४ का ८२ वर्षीय बृद्धको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु भएकामध्ये दमक ५ ठेगाना उल्लेख गरिएकी बृद्धा झापा अर्जुनधारा ४ की रहेको खुल्न आएको छ । उनी दमकस्थित छोराको घरमा बसेर उपचार गराइरहेकी थिइन् ।

बृद्धालाई उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी ती बृद्धाको स्वास्थ्य अबस्था गंभीर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो ।

त्यहाँ संभव नदेखिएपछि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको भट्टराईले जानकारी दिए । उनको वास्तविक ठेगाना अर्जुनधारा ४ भएको बताइएको छ ।

त्यस्तै, मृतक बृद्धको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा ज्यान गएको हो । ती संक्रमितलाई हिजो उपचारका लागि बिर्तामोड ल्याइएको थियो ।

दुवै संक्रमितहरुको शवको कनकाई माईमा अन्त्येष्टि गरिएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १८ पुगेको छ ।