विराटनगर । विराटनगरमा एकै दिन सात जना कोरोना संक्रमितको ज्यान गएको छ । त्यस्तै, सुनसरीकाे धरानमा थप तीन जनाकाे मृत्यु भएकाे छ । विराटनगरमा एकै दिन मृत्यु भएको संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।
विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका पाँच महिला र दुई पुरुषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा तीन, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एकएक जनाको मृत्यु भएको छ । मृतक संक्रमितमध्ये पाँच महिला र दुई पुरुष छन् ।
मोरङ कटहरी गाउँपालिका-२ आदर्श टोलकी २१ वर्षीया युवतीको बिहान ५ः३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएकी उनलाई त्यही दिन उपचारका लागि भर्ना गरिएको थियो ।
त्यस्तै विराटनगर महानगरपालिका-१२ की ६४ वर्षीया वृद्धा महिलाको कोशीमै बिहान ४ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार उपचारका लागि भर्ना गरिएको थियो ।
सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोशी कोभिडमै मृत्यु भएको छ । केही दिनअघि पीसीआर परीक्षण गराएका उनी रिपोर्ट पोजेटिभ आएपछि घरमै होम आइसोलेसनमा रहेको बस्नेतले बताए । उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि सोमबार दिउँसो पुरुषलाई उपचारका लागि कोभिड अस्पताल ल्याइएको हो ।
यता मोरङको रंगेली नगरपालिका-३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट नर्सिङ होम एवं अस्पताल प्रालिमा मृत्यु भएको छ । असोज २८ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा ग्राह्रो हुने समस्या रहेका उनको मृत्यु सोमबार राति १२ बजेतिर भएको हो ।
विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक वृद्धा महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै विराटनगर महानगरपालिका-७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । असोज २६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको दाहालको भनाइ छ ।
त्यस्तै मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्ध महिलाको बिहान ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार झापाको बिर्तामोड नगरपालिका-४ की महिलाको उपचारका क्रममा ज्यान गएको हो । कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको जानकारी उनले दिए ।
एक जनाको रिपोर्ट आउन बाँकी
विराटनगरको कोशी अस्पतालमा मृत्यु भएका मोरङको रतुवामाई नगरपालिका-४ का ४० वर्षीय पुरुषको भने पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ ।
उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनको सोमबार राति १२ बजेतिर मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको भए पनि रिपोर्ट आउन बाँकी रहेको अस्पतालका आइसोलेसन इन्चार्ज डा लक्ष्मीनारायण यादवले बताए ।
सुनसरीमा थप तीन संक्रमितको मृत्यु
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान-३ का ७२ वर्षीय, धरान-१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुष छन् ।
उनीहरु तीनै जनाको मृत्यु सोमबारै भए पनि प्रतिष्ठानको कोभिड अस्पतालले मंगलबार बिहान मात्र सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार ७२ वर्षीय पुरुषको असोज २९ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । कोभिड अस्पतालमा बेड अभाव भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा जटिलता देखिएपछि उनलाई कात्तिक ३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।
यसै गरी उच्च रक्तचापको समस्या रहेका धरान–१७ का ६८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट असोज २८ गते पोजिटिभ देखिएको थियो । उनलाई कात्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
इटहरीका पुरुषलाई कात्तिक १ गते कोरोना पुष्टि भए पनि अस्पतालमा बेड अभावले होम आइसोलेसनमा बसेका थिए । त्यही क्रममा उनलाई श्वासप्रश्वासमा जटिलता देखिएको थियो । कोरोना पुष्टि भएको तीन दिनपछि मात्र उनले कोभिड अस्पतालमा बेड पाएका थिए ।
यसै गरी मंगलबार धरानमा २ सय ८५ जना संक्रमित थपिएका छन् । तीन दिनअघि स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पठाइएका नमुना परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।