झापा । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)बारे जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको श्रव्य दृश्य आज झापाको अर्जुनधाराबाट सार्वजनिक गरिएको छ ।

सामाजिक अभियन्ता गणेश ढुंगानाको शब्द संगीत रहेको करिब ४ मिनेटको उक्त श्रव्य दृश्य अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले एक अनौपचारिक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् । श्रव्य दृश्यको निर्माणसँगै सामाजिक अभियन्ता ढुंगानाले अर्जुनधारा ६ मा रहेको अपांग बाल शिक्षा सरोकार केन्द्रको भवन निर्माण गर्न सहयोग जुटाउने उद्घोष पनि गरेका छन् ।

सरसफाइमा अग्रणी भूमिका निर्वाह गरेका सामाजिक अभियन्ता ढुंगानाले समय सापेक्ष श्रव्य दृश्य ल्याएको भन्दै मेयर रानाले उनको अभियानमा नगरपालिका सकारात्मक भएको उल्लेख गरे । केन्द्रलाई नगरपालिकाले छुट्टै सोच बनाएको भन्दै उनले यसअघि पनि आवश्यक सहयोग गरिरहेको जानकारी गराए ।

श्रव्य दृश्य निर्माणमा सहयोग पुराएको भन्दै सुनिता धिमाल, शेरबहादुर थापा र जगतबहादुर राना मगरलाई मायाको चिनो नगर प्रमुख राना, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ र शिक्षासेवी लोकनाथ पौडेलले हस्तान्तरण गरेका थिए ।

केन्द्रका अध्यक्ष दिपक दुलालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी पौडेल, जनप्रतिनिधि सुशिला सुवेदी, हस्त परियार, भगवती ढुंगेल, जगत रानामगर, शेरबहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए । सोही कार्यक्रममा जनप्रतिनिधि सुशिला सुवेदीले अभियानलाई नगद ५ हजार १ सय सहयोग प्रदान गर्ने घोषणा गरिन् ।