झापा । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड-१९ का संक्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ ।

शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ जना कोभिड-१९ का संक्रमितहरुको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गरेका हुन् ।

उनले कोभिडका संक्रमितहरु निको भएर आएकाले प्लाज्मा दान गर्न सक्ने जनाउँदै रेडक्रसको विर्तामोड शाखामा रहेको प्लाज्मा बैंकमा आएर निःशुल्क दान गर्न आग्रह गरे ।

‘संक्रमितको संख्या बढेसँगै कतिपय गम्भीर अवस्थामा आइसियूमा हुनुहुन्छ’, उनले भने, ‘चार जनालाई तत्काल प्लाज्मा चाहियो भनेर विरामीका आफन्तले मागिरहनुभएको छ । उहाँहरुको जीवन बचाइ दिन कोरोना जितेर फर्कनु भएकाहरुलाई हामी अपील गर्दछौं ।’

उनले हालसम्म आठ जनालाई प्लाज्मा बैंकमा जम्मा भएको प्लाज्मा निःशुल्क प्रदान गरेको बताए । बैंकमा चार पोका प्लाज्मा मौज्दात रहे पनि ब्लड ग्रुप नमिलेका कारण दिन नसकेको बताए ।

सभापति ढकालले चितवन, धरान र मोरङमा रहेका बैंकबाट समेत प्लाज्मा ल्याएर संक्रमितको उपचारमा सेवा दिइरहेको बताए । जिल्लामा हालसम्म १० जनाले प्लाज्मा दान गरेका छन् ।

झापामा सक्रिय संक्रमित जना रहेकोमा १६३ जना अहिले उपचारका लागि कोभिड अस्पतालमा भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

जिल्लामा कूल संक्रमित एक हजार ६५१ जनामध्ये एक हजार १०० जना निको भइसकेका छन् । होम आइसोलेसनमा ३८८ जना रहेका छन् । संक्रमणबाट मुक्त भएको २० दिनपछि प्लाज्मा दान गर्न मिल्ने चौलागाईले बताए ।