अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले शव बाहन खरिद गर्ने भएको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को आज बसेको बैठकले शव बाहन खरिद गर्ने निर्णय गरेको हो ।

कोभिडका कारण मृत्यु भएका नगरवासीको अन्त्येष्टिका लागि शव बाहन खरिद गर्न लागिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । उनले शव बाहनको अभावमा अन्त्येष्टि कार्यमा समस्या उत्पन्न भइरहेकोले नगरले यस्तो निर्णय गरेको बताए ।

सिसिएमसीको सुझाव बमोजिम बोर्डबाट अनुमोदन गराएर शव बाहन खरिद गरिने नगरपालिकाका मेयर हरिकुमार रानाले बताए । उनले शव बाहन अनिवार्य आवश्यकता भएको हुनाले खरिद गर्न लागिएको बताए । नगरले खरिद गर्ने शव बाहनले कोभिड बाहेकका कारण मृत्यु भएकाको अन्त्येष्टिका लागि पनि सहयोग गर्ने बताइएको छ ।

कोभिड–१९ का बिरामीहरुको नगरपालिकाको स्वास्थ्य टोलीले निरन्तर संक्रमितहरुलाई आत्मबल बढाउन सकारात्मक स्वास्थ्य सुझाव दिने पनि निर्णय भएको छ । कोभिडका बिरामीलाई आवश्यक पर्ने अक्सिजनको आपूर्ति तथा भण्डारण गर्ने समेत निर्णय भएको बताइएको छ ।