काठमाडौँ । लामो समयदेखि रोकिएको इजरायल रोजगारी सुरु गर्ने अन्तिम तयारी गरिएको छ। वैदेशिक रोजगार विभागले यसै महिनाको दोस्रो सातादेखि इजरायलमा केयरगिभरमा कामदार पठाउन अनलाइन आवेदन खोल्ने तयारी गरेको जनाएको छ। केयरगिभरको काम बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो।
विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी भइरहेको जानकारी दिए। यसअघि विभागले साउनको सुरुदेखि नै आवेदन खुलाउने भनेको थियो। तर इजरायल कामदार पठाउने प्रक्रियाबारे केही मिलाउनुपर्ने भएकाले ढिलाइ भएको विभागले जनाएको छ।
पहिलो चरणमा पाँच सयलाई इजरायल पठाउने तयारी छ। तीमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्ने गरी आवेदनको तयारी गरिएको विभागले जनाएको छ।
केयरगिभरमा श्रमिक पठाउन ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८’ जारी भइसकेको छ। विगतमा पनि पटक-पटक इजरायलमा केयरगिभर पठाउने प्रयास भए पनि अनेक कारणले रोकिँदै आएको छ। अनेक प्रयासपछि चार वर्षअघि केयरगिभर पठाउन सुरु गरिएको थियो।
पाइलट प्रोजेक्टको रूपमा त्यतिखेर तीन सय श्रमिक पठाउन दुई देशबीच सहमति भए पनि एक सयजना पठाइएपछि उक्त प्रोजेक्ट रोकिएको थियो। चार वर्षअघि पनि इजरायल रोजगारी सुरु हुने र बन्द हुने क्रम जारी रहँदै आएको थियो।
इजरायलमा केयरगिभरको मासिक न्यूनतम पारिश्रमिक डेढ लाख रूपैयाँ हुने दुई देशबीचको सम्झौता छ। राम्रो मानिएको रोजगारी सुरु हुन नसकेपछि नेपाली श्रमिक जोखिमपूर्ण मानिएका र न्यून पारिश्रमिक पाउने खाडी मुलुक र मलेसिया जान बाध्य छन्।
पछिल्लो समयमा नेपाल–इजरायलबीच २०७७ असोज १४ मा पुनः केयरगिभर पठाउने सहमति भएको थियो। विभागका अनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण लगायतका शुल्क रोजगारदाताले बेहोर्ने सम्झौता छ।
रोजगारीका लागि अन्य मुुलुक जान १८ वर्ष पुगेको हुनुपर्ने भए पनि इजरायल जान २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड छ। त्यस्तै, उचाइ कम्तीमा १.५ मिटर (४.९ फिट) र तौल ४५ केजी हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा कम्तीमा १० कक्षा उत्तिर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको हुनुपर्नेछ। यो समाचार आजको नागरिक दैनिकमा छ ।