काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेकामध्ये १७ खेलाडी बाहिरिएको जनाएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणमा ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।

बन्द प्रशिक्षणबाट बाहिरिने रेखा पौडेल, कुशुम खतिवडा लगायत रहेका छन् । एन्फाले एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।

तर, परिक्षाको कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएको एन्फाले जनाएको छ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल उज्वेकिस्तानमा हुनेछ ।

एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीः
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, अन्जली वाइबा, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिमा चौधरी, हिरा भुजेल, इन्द्र राई, मनिषा राउत, मन्जली तामाङ, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, शर्मिला थापा, सिर्जना सिंह छन् । खेलपाटीबाट