झापा । अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो । तालिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।
देशका ३४ मध्ये कम्तीमा २६ वटा प्रान्त कब्जा गरेको तालिवानले राजधानी काबुल घेरेपछि गृहमन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको जनाएका थिए । तर, त्यसलगत्तै राष्ट्रपति असरफ घानी देश छाडेर भागे । उनी ताजिकिस्तानतर्फ उडेको जनाइएको छ । एक उच्च अधिकारीले राष्ट्रपतिले देश छाडेको पुष्टि गरे पनि थप जानकारी दिन अस्वीकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
उच्चस्तरीय राष्ट्रिय मेलमिलाप परिषद्का अध्यक्ष तथा पूर्वराष्ट्रपति अब्दुल्लाह अब्दुल्लाहले ‘घानीले देश छाडिसकेको’ बताए । घानीले अप्ठ्यारो अवस्थामा देश छाडेको जनाउँदै अब्दुल्लाहले भने, ‘भगवान्ले उनलाई जवाफदेही बनाउनेछन् र देशले पनि उनको मूल्यांकन गर्नेछ ।’
उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छाडेको ठानिएको छ । गृहमन्त्री अब्दुल सत्तार मिर्जक्वालले तालिवानलाई सत्ता हस्तान्तरणको तयारी भइरहेका बेला राष्ट्रपतिले देश छाडेको जनाए । तालिवान लडाकु काबुलतर्फ अघि बढेपछि घानीले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै ‘मुलुक गम्भीर खतरामा’ परेको दाबी गरेका थिए ।
सन् २०१४ देखि अफगानिस्तानको राष्ट्रपति रहेका घानी अर्थविद् हुन् । दुई वर्षअघि चुनावमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । सन् १९८३ देखि ८ वर्ष अमेरिकाका विश्वविद्यालयमा अध्यापन गरेका उनले राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न सन् २००९ मा अमेरिकी नागरिकता त्यागेका थिए ।
तालिवानले सत्ता हस्तान्तरण, संक्रमणकालीन सरकारको नेतृत्वलगायत विषयमा सरकारसँग वार्ता भइरहेकाले आफ्ना लडाकुलाई काबुलमा आक्रमण नगर्न निर्देशन दिएको छ । तालिवानले एक विज्ञप्ति जारी गर्दै काबुल छाड्न चाहने कसैलाई पनि नरोकिने जनाएको छ । ‘वार्ता कुनै टुंगोमा नपुग्दासम्म काबुलको शान्ति सुरक्षाको जिम्मेवारी सरकारको हुन्छ,’ तालिवान प्रवक्ता मुहम्मद सुहेल सहिनले अलजजिरासँग भनेका छन् । उनले महिलाहरूलाई सुरक्षा दिइएका क्षेत्रतर्फ जान आग्रह गरेका छन् । एजेन्सीको सहयोगमा कान्तिपुरबाट