बिर्तामोड । नेपाल ब्लग च्यालेन्ज २०२१ को लागि झापाका विश्वास राई टप ११ मा पर्न सफल भएका छन्।

२० वर्षीय राई बिर्तामोड ५ का हुन् । सानैदेखि भिडियोग्राफीमा रुचि राख्ने उनी भिडियो ब्लगमामार्फत आफूलाई चिनाउन चाहन्छन् । स्थानीय न्यूटन्स् कलेजबाट कक्षा १२ सम्मको अध्ययन पूर गरेका उनी हाल देवी उच्च मावि बिर्तामोडमा बीबीएस प्रथम वर्षमा अध्ययनरत छन् ।

यही अक्टुवर ७ तारिक बिहीबार हुने टप ५ का लागि छनौटमा आफूलाई भोट गरेर अघि बढाउन सबैसँग अपिल गरेका छन्। उनलाई इसेवाको नेपाल ब्लग च्यालेन्जमा गई भोट गर्न सकिने छ ।

११ जना प्रतिस्पर्धीलाई भिडियो ब्लगका आधारमा निर्णायक मण्डलमा रहेका निश्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापाले चुनेका हुन् ।

टप ११ प्रतिस्पर्धीहरूमा भ्लगर प्रज्वल थापा मगर, फिल्ममेकर निशान भुजेल, ट्राभल भ्लगर नीशा खालिङ राई, रोशन महर्जन, आयुष्मान घर्ती मगर, विश्वास राई, आशुतोष बाराही, आत्मीय बराल, रेतिश गैन्जु, सुजन गौतम तथा समीर ताम्राकार रहेका छन् ।

यही बिहीबार टप ५ का प्रतिस्पर्धी चुनिनेछन् भने क्रमशः टप ३ का लागि अक्टुवर १२ मा र विजेता अक्टुवर १७ मा चुनिने तालिका रहेको छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ । यसका साथै नेपालका हिम नदी र हिम शृङ्खलाबारे विश्वव्यापी प्रचार गर्ने उद्देश्यका साथ विश्वका चर्चित भिडियो ब्लगरहरुसँग प्रतियोगिताका विजेताले सगरमाथा आधार शिविरसम्मको पदयात्रामा सहभागी हुने अवसर पाउने छ ।