काठमाडौं । सुनिल बल चम्किँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले नै दुई गोल गरे । एनआरटीका एरिक विष्टले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको छैटौं मिनेटमा एनआरटीका कृतिस रत्न छुन्जुको पेनाल्टी क्षेत्रभन्दा बाहिरबत्को प्रहारले पोस्टको दिशा लिन सकेन ।

 

तर, १२औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । विशाल राईको पासमा उनले गोल गरे । लगत्तै १३औं मिनेटमा मछिन्द्रका विशाल राईले गोलको सुनौलो अवसर खेर फालेका थिए ।

 

एनआरटीका डिफेन्डरबाट बल खोस्दै अघि बढाएका विशालले गोलकिपरसँग वान भर्सेज वानमा गोल गर्न सकेनन् । पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

 

२२ औं मिनेटमा मछिन्द्रका अविशेक रिजालको गोलले मान्यता पाएन । सुनिल बलको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले पन्च गर्दै बाहिर पठाएका थिए । त्यहिँ बलमा कप्तान सुजल श्रेष्ठले प्रहार गरेको बललाई अविशेकले पोस्टको जाली चुमाएका थिए ।

 

खेलको २६ औं मिनेटमा एनआरटीका कृतिसले गोलको अवसर गुमाए । सिक्स यार्ड बक्सबाट गोलकिपर विशाल श्रेष्ठसँग वान भर्सेस वानको स्थितिमा उनले बाहिर प्रहार गरे ।

 

दोस्रो हाफमा एनआरटी खेलमा फर्कियो । ५४ औं मिनेटमा एरिक विष्टले फ्रिकिकबाट गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा फर्काए । मछिन्द्रका देबेन्द्र तामाङले स्टेफेन समिरलाई फउल गरेपछि एनआरटीले फ्रिकिक अवसर पाएको थियो । जसमा एरिकले ३० यार्ड क्षेत्रबाट फ्रिकिकमा सुन्दर गोल गरे ।

 

६२ औं मिनेटमा मछिन्द्रका सुनिलले गोल गरेका थिए । तर, अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन । लगत्तै ६३ औं मिनेटमा रञ्‍जित धिमालको क्रसमा मछिन्द्रका अविशेकको हेडर बाहिरियो ।

 

खेलको ६९औं मिनेटमा एनआरटीका दर्शन गुरुङको शशक्त प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ७४ औं मिनेटमा मछिन्द्रका मनिष डाँगीको प्रहार एनआरटीका गोलकिपर अजितले मुश्किलले बचाए ।

 

७८ औं मिनेटमा मछिन्द्रका कप्तान सुजलको पेनाल्टी क्षेत्रभित्रबाटको प्रहार एनआरटीका गोलकिपर अजितले नै बचाए । त्यसपछि खेलको ८०औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २(१ को जित दिलाए । उनले कप्तान सुजलको पासमा गोल गरे ।

 

जितसँगै मछिन्द्रले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । मछिन्द्र तालिकाको दोस्रो स्थानमा रहेको छ । एनआरटीले भने हारबाट लिगको सुरुआत गरेको छ ।

 

आर्मी र पुलिसको बराबरी

 

यसअघि भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । विभागीय डर्बी १-१ गोलको बराबरीमा सकिएको हो ।

 

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती एक गोलको अग्रता उल्टाएर आर्मीले पुलिससँग बराबरी खेलेको हो । पुलिसका सन्तोष हेमरामले सुरुआती गोल गरे । आर्मीका विवेक बस्नेतले बराबरी गोल फर्काए । दुबै टोलीले दोस्रो हाफमा मात्र गोल निकालेको थियो ।

 

खेलको तेस्रो मिनेटमा आर्मीका सन्तोष तामाङको फ्रिकिक पुलिसका गोलकिपर शत्रुधन चौधरीले पन्च गर्दै गोल हुनबाट रोके । खेलको १०औं पेनाल्टी क्षेत्र बाहिरबाट आर्मीका जर्ज प्रिन्स कार्कीको सशक्त प्रहार पोस्टको केहि माथिबाट बाहिरियो ।

 

१४औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको पासमा कप्तान भरत खवासको ‘क्लोज हेडर’ पोस्ट नजिकैबाट बाहिरियो । खेलको १८ औं मिनेटमा २५ यार्ड टाढाबाट पुलिसका सुमन लामाको प्रहार पोस्टको माथिबाट गएको थियो ।

 

४३ औं मिनेटमा ३० यार्ड टाढाबाट आर्मीका सेसेहाङ आङ्देम्बेको प्रहार पुलिसका गोलकिपर शत्रुधनले आफ्नो पन्जामा पारे । खेलको ५१ औं मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तेज तामाङको फ्रिकिकमा उनले हेडरमार्फत गोल गरे ।

 

तर, खेलको ६१ औं मिनेटमा परिवर्तित खेलाडी विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याए । पुलिसका डिफेन्डर बुद्ध तामाङले क्लियर गर्न नसकेको बलमा विवेकले पेनाल्टी बक्सको ठिक बाहिरबाट सुन्दर गोल गरे ।

 

खेलको ८७ औं मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गरेका थिए । तर, उनी अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो । यस बराबरीसँगै आर्मी र पुलिसले १-१ अंक पाएका छन् । खेलपाटीबाट