काठमाडौं । नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार तीन पटकको च्याम्पियन थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले पहिलो जित निकालेको हो । ललितपुर डर्बीमा सातदोबाटोलाई जित दिलाउन सुदिप गुरुङले निर्णायक गोल गरे ।

 

सुदिपले खेलको २९ औं मिनेटमा निर्णायक गोल गरे । मार्टिन्स अजयीले उपलब्ध गराएको पासमा अनमार्क रहेका सुदिपले डिबक्सको ठिक बाहिरबाट सुन्दर गोल गरे ।

 

सुदिपको गोल बाहेक दुबै टोलीले गोलको अवसर गुमाएका थिए । तर, खेल अवधिभर थ्री स्टारविरुद्ध सातदोबाटो हाबी भएको थियो । ३६ औं मिनेटमा सातदोबाटोका निरज चौधरीले गोलको अवसर खेर फाले । शुशील राईको पासमा पेनाल्टी क्षेत्रभित्रबाट निरजले बाहिर प्रहार गरे ।

 

३७ औं मिनेटमा थ्री स्टारका ऋतिक कुमार खड्काले २५ यार्डबाट गरेको सशक्त प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले उत्कृष्ट बचाउ गरे । खेलको ६३ औं मिनेटमा सातदोबाटोका निरज चौधरीले प्रहार गरेको बल थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।

 

७२ औं मिनेटमा प्रसान्त अवस्थीको पासमा पेनाल्टी क्षेत्रभित्रबाट मार्टिन्स अजयीको सशक्त प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए । खेलको ८२ औं मिनेटमा निशान खड्काको पासमा थ्री स्टारका कप्तान बिक्रम लामाको हेडर पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।

 

यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोका अजयीले गोलको अवसर गुमाए । वान भर्सेस वानको अवस्थामा उनको फितलो प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले रोकेका थिए । खेलको म्यान अफ दि म्याच सातदोबाटोका सुदिप गुरुङ चुनिए ।

 

यस जितसँगै सातदोबाटोले २ खेलमा ४ अंक जोडेको छ । सातदोबाटो लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

 

थ्री स्टारको यो पहिलो हार हो । थ्री स्टार ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो । खेलपाटीबाट